काठमाडौ । बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजले त्रिभुवन विमानस्थलबाट भुटानको पारोका लागि सोमबार बिहान ११ बजे पहिलो उडान गरेको थियो ।
यससगै बुद्ध एयर भुटानको पारोका लागि नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय कम्पनी बनेको छ । हालसम्म ड्रयुक एयरबाहेक कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध निजी क्षेत्रको पाँचौं कम्पनी भएको छ । यसअघि नेकोन, एयर नेपाल इन्टरनेसनल, कस्मिक र यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थालेका थिए । तर कुनै पनि दिगो हुन सकेनन् ।
१३ वर्षअघि सन् १९९७ मा एउटा विचक्राफ्टबाट नेपाली आकाशमा हवाई सेवा सुरु गरेको बुद्ध एयरले लामो तयारीपछि अन्तर्राष्ट्रिय सीमापार उडान थालेको जनाएको छ । स्वदेशी आकाशमा सुरक्षित हवाई कम्पनीका रूपमा स्थापित बुद्धले सुरुमा साताको चार उडान गर्ने कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए । उडान सुरु भएको विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले माग हेरेर बिस्तारै उडान बढाउने बताए ।
त्यसलगत्तै सीमापार उडानकै लागि बुद्धले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट काठमाडौंदेखि कोलकाता, पटना र लखनउका लागि पनि अनुमति लिइसकेको छ । १३ वर्ष आन्तरिक उडान गरेपछि बुद्ध अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न तयार भएको हो ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this