विपिन शर्मा । गणतन्त्र नेपालको प्रधानमन्त्री हुन पाएँ भने राष्ट्रिय मुद्दाका विषयमा निर्णय गर्नुअघि मुलुकका सबै राजनीतिक पार्टीसँग सहमति लिनेछु । कुनै पनि निर्णय राष्ट्रिय हितका लागि लाभदायक छ तर अन्य राजनीतिक पार्टीले पूर्वाग्रही ढंगले असहमति जनाउँछन् भने पत्रकार सम्मेलन गरेर सबै कुरा जनतासामु प्रस्ट पार्नेछु ।
प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुले प्रत्येक महिनाको एकपटक बितेको महिनाको कार्यप्रगति र आगामी महिनाको कार्ययोजना समेटी नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्नुपर्ने व्यवस्था गर्नेछु । कार्यक्रममा जनताले मन्त्रीलाई सीधा प्रश्न गर्न पाउने व्यवस्था मिलाउने छु । यसले कामकारवाहीप्रति पारदर्शिता बढ्दै जान्छ । नेपालको व्यापार घाटा उच्च रहेको तथ्यांकले देखाइरहेको छ । आयात गरिने वस्तुको सूचीमा कृषिजन्य वस्तुको परिमाण पनि उच्च रहेको छ । त्यसैले तत्काल नेपालमा उत्पादन तथा उपलब्ध हुनसक्ने तर विदेशबाट आयात भइरहेको वस्तुको सूची सार्वजनिक गरी तिनको उत्पादन गर्नका निम्ति विभिन्न अनुदानमूलक कार्यक्रम ल्याउने थिएँ ।
सरकारी आयगत खर्च नियन्त्रण कार्यक्रम ल्याउनेछु र यसलाई प्रभावकारी बनाउन उचित संयन्त्र बनाउनेछु । बेरोजगारी समस्या जर्जर बन्दै गइरहेको छ । ग्रामीण क्षेत्रका निरक्षर बेरोजगारलाई मोटरबाटो निर्माण सिँचाइका लागि कुलो निर्माण घरेलु तथा साना उद्योगको स्थापनामार्फत पहिलो चरणमा दुई लाख जनतालाई मासिक पाँच हजार रुपैयाँको तलब सुविधासहित रोजगार उपलब्ध गराउनेछ । दुई लाख जनताले रोजगारी पाउँदा त्यसमा आश्रित १० लाखको जीवनस्तर उक्सने थियो । यसका लागि आवश्यक आर्थिक भार प्रभावकारी राजस्व संकलनबाट सम्भव हुन्छ ।
अहिले जनताको व्यापक असन्तुष्टि राजनीतिक व्यक्तित्वको विलासी जीवनसैलीप्रति छ । यो असन्तुष्टि दूर गर्न सरल जीवनयापनको सरुवात आफैंबाट गर्नेछु जसले अन्य राजनीतिक दलका नेतामाथि पनि नैतिक दबाब पर्न सक्छ । अहिले नेपालको अँन्तरिक मामिलामा बाह्य हस्तक्षेप नाङ्गो रुपमा देखिएको छ । यस सम्बन्धमा सबै राजनीतिक दलहरुको सहमतिमा अन्य देशहरुको कस्तो सम्बन्ध राख्ने भन्ने कुरा प्रस्ट पार्नेछु । त्यही अनुरुपको व्यवहार गर्नेछु । कुनै पनि देशले राष्ट्रिय हितमा प्रतिकूल असर पर्ने गरी कुनै दबाब दिन्छ भने यसबारे जनतालाई प्रस्ट पार्नेछु ।
अन्तर्राष्ट्रिय सम्बन्धबारे सबै दल र जनताको स्वर एउटै भयो भने वैदेशिक हस्तक्षेप कम हुँदै जानेछ । नेपाली जनतासँग निष्क्रिय रुपमा रहेको तरल पूँजी सरकार आफैं जमानी बसी ऋण लिने व्यवस्था मिलाउने छु । नेपालमा वित्तीय संस्थाले आवेदन मागेको शेयरभन्दा २०/३० गुणा बढी आवेदन परेको देखिन्छ विदेशबाट भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा घर निर्माण सुनचाँदीका गरगहना खरिदजस्ता अनुत्पादकमूलक क्षेत्रमा खर्च भइरहेको छ । यस्तो पुँजीलाई पर्यटन पूर्वाधार निर्माण सिँचाइ आयोजना निर्माण लघु जलविद्युत् आयोजना निर्माणजस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेछु । उच्चशिक्षा नै विकासको पहिलो आधार हो । यसका लागि शिक्षा बैंकको अवधारणा अगाडि ल्याउनेछ ।
देशका शिक्षक तथा प्राध्यापकहरुको र शिक्षण संस्थाका कर्मचारीको साचयकोषको रकम साथै सार्वजनिक रुपमा जनतासँग सेयर आवेदन माग गरी शिक्षा बैंकको स्थापनाको पहल गर्नेछु । यस बैंकले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउने प्राथमिक तथा माध्यमिक विद्यालयसम्म सबै विद्यार्थीको पहुँच तथा शैक्षिक पूर्वाधार विकासमा योगदान गर्नेछु ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this