एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल ‘गौरव’ संग गरिएको कुराकानीको संपादित अंस
१. केन्द्रीय समिति बैठकले पार्टीभित्रको समस्या समाधान गर्नुभन्दा झनै बल्झिएको जस्तो देखिन्छ, वास्तविकता के हो ?
- केन्द्रीय समिति बैठकबाट एउटा निष्कर्ष निकाल्ने प्रयास भएको थियो । बैठकबाट समस्या झनै बल्झिएको अवस्था त छैन । मौखिक रूपमा भएका सहमति लिखितरूपमा लिपिबद्ध हुन सकिरहेको छैन । समस्या समाधानको लागि हामी प्रयासरत छौँ, हेर्दै जाऔँ के हुन्छ ?
२. पटक–पटक स्थगित भएर बसेको केन्द्रीय समिति बैठकले पनि निष्कर्ष निकाल्न नसक्दा सबैभन्दा ठूलो पार्टीको लाजमर्दो विषय भएन र ?
- हाम्रो पार्टीभित्र र राजनीतिक विचारको दृष्टिमा ठूलो अन्तर छ, सामान्य अन्तर मात्र होइन, त्यसकारण यसलाई सहजै मिलाउन सकिने अवस्था छैन । व्यापक छलफल एवं अन्तरक्रियाबाट मात्र निकास निकाल्दै निचोडमा पुग्न सकिन्छ । अहिले हामी कार्ययोजना र कार्यक्रम मिलाएर लैजाऔँ भन्ने विषयमा सहमत भएका छौँ ।
३. तपाईंहरूलाई मागेजस्तो मन्त्रालय दिएर चित्त बुझाउने भनेर संस्थापन पक्ष लागिरहेको छ, के तपाईंहरूले सरकारमै जान यत्रो लडाइँ गर्नुभएको हो ?
- हामी सरकारमा जानकै लागि यो लडाइँ लडेको होइन । मन्त्री बन्न र रोजेको मन्त्रालय पाउन होइन । पार्टीको आदर्श र क्रान्तिकारी धारलाई बचाइराख्न हामीले विचारको लडाइँ गरेका हौँ । मन्त्री र मन्त्रालय हाम्रा लागि गौण हुन् । कार्ययोजना र कार्यक्रममा सहमति नभई रोजेको मन्त्रालय लिन संस्थापन पक्षले गरेको आग्रहलाई हामीले अस्वीकार गरिदिएका छौँ । मुख्य कुरा पार्टीको विचार र कार्यदिशा नै हो ।
४. सरकारमा सहभागी नहुने हो भने सरकार विघटनको कुरा तपाईंहरूले किन उठाउनु भएको त ?
- यो सरकारले हाम्रो पार्टीको योजना कार्यान्वयन गर्न सकिरहेको छैन । सरकार मधेशी मोर्चाको एजेन्डामा अगाडि बढिराखेको छ । यो सरकार र सर्वत्र असफल भइसकेको छ । बाबुरामकै नेतृत्वमा अहिले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने अवस्था छैन । कतैबाट हेर्दा पनि यो सरकारले आफ्नो औचित्य पुष्टि गर्न सक्दैन । त्यसकारण यो सरकार विघटन भएर अर्को सरकार बन्नुपर्छ भन्ने हाम्रो माग हो ।
५. तपाईंहरू कसरी क्रान्ति पूरा गर्दै हुनुहुन्छ, आमजनतालाई आश्वस्त पार्न सक्नुहुन्छ ?े
- क्रान्ति पूरा गर्ने कुरा विचार, कार्यक्रम एवं योजनाले प्रस्ट गर्ने कुरा हो । यसैका आधारमा क्रान्ति अगाडि बढ्छ । हाम्रो व्यवहार एवं कार्यशैलीले समेत त्यसलाई निर्धारण गर्ने गर्छ । पार्टीभित्र सुदृढीकरण अभियान थाल्दै अगाडि बढ्नुपर्छ । यो अभियान वर्गसंघर्षकै दौरानमा पूरा हुँदै जान्छ । वर्गसंघर्षबाट पार्टी सुदृढीकरण हुँदै जान्छ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this