बुधवार, 21 डिसेम्बर 2011 16:47
काठमाडौँ, पुस ६ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी माघ १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत वृद्धि गर्न सैद्धान्तिक सहमति दिनुभएको छ । विद्युत् महसुल निर्धारण आयोगका अध्यक्ष गणेशप्रसाद सुब्बाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री डा भट्टराईलाई आज भेट गरी विद्युत् महसुल बढाउनुपर्ने कारणका बारेमा विवरण प्रस्तुत गर्नुभएको थियो ।
भेटपछि पत्रकारसँग कुरा गर्दै आयोगका अध्यक्ष सुब्बाले आयोगको सुझावमा प्रधानमन्त्री भट्टराईले सैद्धान्तिक सहमति जनाउनु भएकाले आगामी माघ १ गतेदेखि विद्युत् महसुल २० प्रतिशत बढ्ने जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल ३० प्रतिशत बढाउन प्रस्ताव राखे पनि आयोगले हाललाई विद्युत्को मूल्य २० प्रतिशतले बढाउने सुझाव अघि सारेको छ । हाल विद्युत् प्राधिकरण वार्षिक रु सात अर्ब घाटामा रहेको र कुल सञ्चित नोक्सानी रु २७ अर्ब पुगेको बुझिएको छ ।