बिहिवार, 19 जनवरी 2012 13:42
ललितपुर, माघ ४ । नेपाल प्रहरीकी डिआईजीले अधिकारको लागि आफै जागरुक हुनपर्ने बताउनुभएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय ललितपुरमा आयोजना भएको सुरक्षा र न्यायमा अल्पसंख्यक समुदायको पहुँच विषयक छलफल कार्यक्रममा वक्ताहरुले चेतना अभिवृद्धि भएमा अल्पसंख्यक समुदायको पहुँच कायम हुने धारणा राखेका हुन् । डिआईजीले नेपाल प्रहरीमा समस्या लिएर गए समस्या समाधानको लागि प्रहरीले काम गर्ने र प्रहरीले जात, वर्ग, लिंगको आधारमा भेदभाव नगरिएको बताउनुभयो ।
सुरक्षा र न्यायमा अल्पसंख्यक समुदायको पहुँच नभएको भन्दै पहुँचको लागि सबैको सहयोग आवश्यक पर्ने सोही कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रममा मानवअधिकार आयोगका उपनिर्देशक अच्युत आचार्यले पहुँच र न्यायमा सबैलाई समान व्यवहार गर्नुपर्ने बताए । मानवअधिकार एलाइन्सका देवेन्द्र अधिकारीले औपचारिक न्यायमा सिमान्तिकृत समुदायको पहुँच कम भएको बताए । समताको सिद्धान्तमा चल्नसके सबैको सुरक्षा र न्यायमा पहुँच हुने उनको भनाई थियो । युसआईपीका राष्ट्रिय सल्लाहकार शोभाकार बुढाथोकीले प्रशासनिक, कानुनी र संरचनागत समस्यका कारण सुरक्षा र न्यायमा अल्पसंख्यकको पहुँच नभएको बताए । कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमको सभाध्यक्षतामा भएको थियो ।