Banner

डा. राजकुमार पोखरेल । संविधानसभाका सदस्यहरू भावी संविधान निर्माण गर्न जनताका सुझाव लिएर गाउँबाट भर्खरै राजधानी फर्किएका छन् । सभाको सम्बन्धित समितिलाई राजनीतिक दलहरूबाट सुझाव दिने र संविधानको मस्यौदा बुझाउने क्रम पनि अब लगभग सकिएको छ । यो क्रमलाई हेर्दा समयमै संविधान आउने कुरामा विश्वास गर्न सकिन्छ । जनताको सहभागितामा संविधान निर्माण गर्ने कुरा भए पनि कतिपय ठाउँका जनताले संविधानभन्दा आफूलाई दाल, डुकु, रोटी र भोटो चाहिएको बताउनाले जनताको अवस्था र संविधानप्रतिको चासो मध्यमवर्गीय धङधङी मात्र भएको तथ्य पनि बुझ्न सकिन्छ । यद्यपि अहिले मुलुकमा गाँस, बास र कपासको आवश्यकतालाई पूरा गर्न पनि राजनीतिक स्थिरताको खाँचो परेको छ र त्यसका लागि संविधान अपरिहार्य भएको छ ।

तर संविधान जसरी आउने कल्पना गरिएको होला त्यसरी आउने अवस्थामा छैन । संविधान निर्माणमा नेपालका राजनीतिक दलहरूको दलीय स्वार्थका कारण जटिलता पैदा हुँदै गएको छ । सत्तामा बसेका दुई वामपन्थी दलहरूको सम्बन्ध पछिल्ला दिनहरूमा दिन प्रतिदिन बिग्रदै गएको छ । केही दिन अघि बुटवलमा भएको एउटा हत्याकाण्डले यसबेला ठूलै राजनीतिक संकटमा परेको महसुस गरिदैछ । सरकारको नेतृत्व गरेको माओवादी र एमालेका बीच यसबेला वाक्युद्ध चलिरहेको मात्र होइन लगभग एउटा प्रतिशोधको व्यवहार पनि देखिन थालेको छ । बुटवलमा भएको हत्याकाण्डमा माओवादी कार्यकर्ताको हात रहेको भन्ने एमालेको दावी र त्यो आफूले नगरेको भन्ने माओवादी दाबीका बीचमा सत्यता के हो भन्ने निष्पक्ष जाँच आयोगले मात्र बताउने कुरा हो । यसका लागि दुवै पक्षमा संयमता र धैर्यको आवश्यकता पर्दछ । बुटवलको घटनाले तातो बहस सिर्जना गरेको र दुई पार्टीबीचको सम्बन्ध बिगि्ररहेको समयमा फेरि जनकपुरमा एमाले कार्यकर्ताहरूको हत्या भएको समाचार बाहिर आएको छ । यस्तो हत्या शृफ्लाले के देखाउँछ भने एमाले कार्यकर्ताको हत्या गराएर एमाले तथा माओवादीका बीचमा सम्बन्ध बिगारेर सरकार गिराउने खेलमा कोही अदृश्य ढंगले लागेको छ । यदि सरकार ढल्यो भने माओवादी विद्रोहमा जानेछ र उसमाथि दमन चलाउने योजनामा कुनै अदृश्य शक्ति कुरेर बसेको छ । श्रीलंकामा सेनाले लिट्टेमाथि पाउँदै गरेकेा विजयको उदाहरण दिएर माओवादी माथि दमन अबका दिनमा सफल हुने तर्क पनि कतै सुनिन थालेको छ । भलै हतियार युद्ध फेरि चलेन सायद त्यो पनि सम्भावना रहला । यस्तो कल्पना भनेको फेरि पनि संविधान निर्माणमा बाधा पुग्ने कुरा मात्र हो । यस्तो सोचले संविधान बन्दैन । संविधानसभामा सबैभन्दा ठूलो शक्ति भएर बसेको माओवादी र उसको समर्थन विना कसैले पनि दुईतिहाई पुर्‍याउन नसक्ने अवस्था अहिले मौजुद छ । माओवादी संविधानसभामा हात बाँधेर चुपचाप असहयोग गरी प्रतिपक्षमा बस्दा मात्रै पनि संविधान बन्दैन भने उसलाई सत्ताबाट झारेर प्रतिपक्षमा राख्ने खेल भनेको संविधान नबनाउने खेल हो । यसले मुलुकमा शान्ति स्थापना पनि गर्दैन ।

अहिले माओवादी सरकारमा छ र सरकारमा पनि काम गर्न नदिएर राखिएको देखिएको छ । यो अवस्था रहिरहे संविधान पारित गर्नेे समयमा उसले सरकार छोड्न अनिवार्य हुन्छ । यो उसका निम्ति बाध्यता पनि हो । माओवादी प्रतिपक्षमा बसेर संविधान पारित गराउने कल्पना यथार्थभन्दा धेरै परको विषय हो । तसर्थ अहिलेकै जस्तो गरेर सरकारमा पनि राखिराख्ने र काम पनि गर्न नदिने रणनीति माओवादी माथि लादियो भने यो अवस्था पनि हानिकारक हुनेछ । तसर्थ माओवादीलाई काम गर्न नदिने रणनीति भनेको पनि संविधान नबनाउने योजनासँगको खेल हो भनेर बुझ्न सकिन्छ । यस्ता गतिविधिहरू शान्तिप्रक्रियाका लागि पनि बाधक हुनेछन् । विदेशी शक्तिको इसारामा पाउने सत्ता भरपर्दौ र दीर्घकालीन टिकाउको हँुदैन भन्ने कुरा बुझ्न जरुरी छ । हामीले इतिहासमा हेरेका छौं -कुनै समय सोभियत संघको पतन गराउन अमेरिकाद्वारा प्रयोग गरिएका बिन लादेन अहिले अमेरिकाकै लागि आतंककारी बनेका छन् । अमेरिकाद्वारा इरानसँगको युद्धमा प्रयोग गर्न उक्साइएका सद्दाम हुसेनको हत्या अमेरिकीहरूले नै गरे । सिक्किम निल्न भारतले प्रयोग गरेका लेण्डुप दोर्जे आखिर सत्ता छोड्दा रुँदै बाहिरिए र इतिहासमा कलंक बनेर अंकित भए । बारम्बार सत्तामा टिकाइदिने वचन पाई विदेशी शक्तिको प्रयोगमा आएका हाम्रै देशका कुनै दिनका शासक ज्ञानेन्द्र शाह पनि विदेशी बलले मात्र टिक्न सकेनन् र जनताको शक्तिका सामु झुक्नुपर्‍यो । यसर्थ जनताको हेर्ने आँखा र दलीय षड्यन्त्रको दाउपेचमा धेरै अन्तर हुन्छ भन्ने कुरा राजनीति गर्नेहरूले बुझ्नु पर्दछ । यदि समयमा संविधान निर्माण भएन र मुलुकले शान्ति पाउने लक्षण देखिएन भने त्यसको हिसाब किताब जनताले गर्ने छन् र त्यो दिन आउँदा धेरै महँगो हुनेछ ।

संवैधानिक समितिलाई नेपालका राजनीतिक दलहरूले बुझाएको संविधानको मस्यौदा हेर्दा संविधान निर्माणको कुरा धेरै परको वस्तु बन्न लागेको पाइएको छ । राज्यको शासकीय स्वरूप र राज्यको पुनः संरचनाको विषयमा राजनीतिक दलहरूका बीचमा धेरै ठूलो मतभेद रहेको पनि देखिएको छ । आफ्नो धारणा र प्रस्तुत गरेको विषयमा राजनीतिक दलहरूले लचकता अपनाएर समझदारीमा पुग्ने संस्कार हाम्रो मुलुकमा अहिलेसम्म देखिएको छैन । आफ्नो कुरामा केही तलमाथि भयो भने त्यसलाई प्रतिष्ठा बनाएर सडकमा उत्रने र बलको प्रयोग गर्ने प्रचलनले संविधान निर्माणमा अझ जटिलता थपिनेछ । उदाहरणका लागि लिउँ -नेपाली काँग्रेसले परम्परागत संसदीय प्रणाली भन्दा तल झरेमा लोकतन्त्र नै गुम्ने खतरा भएको बताइरहेको छ । यस्तो विचार भनेको यथास्थिति र प्रतिगामी सोचकै मुहान हो र यसले विगतदेखि राज्यको संरचना नैे फरक गरी पार्टी सञ्चालन गर्दै र कुनै समय जनसत्ताको अभ्याससमेत गरिसकेको माओवादी शक्तिको सोचसँग तीव्र अन्तरविरोध राख्दछ । अझ विदेशी इशारामा कुनै खास सम्प्रदायको नारा उचालेर सार्वभौमिकताकै विखण्डनको लक्ष्य लिएर हिंडेका क्षेत्रीयतावादी दलहरूको सोचसँग त सम्झौता नै कतै हुन नै सक्दैन । राष्ट्रिय एकताका दृष्टिले हेर्ने हो भने तिनीहरूको स्वार्थलाई सम्बोधन गर्नेे ठाउँ नै रहँदैन । तर तिनीहरूको संविधानसभामा उपस्थिति ओजनदार भएको र सरकारमा पनि सहभागी भएकाले तिनीहरूलाई कम आँक्न पनि सक्ने अवस्था छैन । यो अवस्थामा संविधान निर्माणको समयमा कमजोर धरातलमा उभिएको र अनेकौं तत्वहरूको गठबन्धनको मिलनबाट बनेको सरकार धरापमा पर्ने सम्भावना प्रष्ट छ । उनीहरूको पहुँच संविधान निर्माणमा संविधानसभाको संरचनाका हिसावले निणर्ायक त होइन । तर अहिलेको जस्तैे ठूला भनिएका राष्ट्रिय एकताको अवधारणामा रहेका राजनीतिक दलहरूका बीच समन्वयको बदलामा कटुता नै देखिने हो भने तिनीहरूको पहुँच संविधान निर्माणको समयमा हावी हुनेछ । यो अवस्थामा संविधान सर्वसम्मत दस्तावेजका रूपमा आउने कुराको त कल्पना नगरौं, संविधान जन्मिन पनि सक्दैन र अन्तरिम संविधानमा उल्लेखित प्रावधान अनुसार त्यसबेला उत्पन्न हुने संवैधानिक संकटबाट राज्यले निकास पनि पाउँदैन । यसकारण पनि संविधान निर्माण अहिले निर्मित राजनीतिक माहोलबाट सम्भव देखिदैन ।

संविधान निर्माणको जिम्मेवारीमा यसबेला संवैधानिक समितिको अध्यक्षको नाताले नेकपा एमाले अग्रभागमा रहेको छ । संविधान निर्माण गर्ने अभिभारा पूरा गर्नु भनेको एउटा ऐतिहासिक उपलब्धि र विजय पनि हो । सरकारको नेतृत्व गरेको कारणले माओवादीमाथि पनि यसको जिम्मेवारी कम रहँदैन । यी दुवै शक्ति अहिले सरकारमा पनि छन् । संविधान समयमा निर्माण गर्ने हो भने पहिले यी दुई शक्तिका बीचमा समन्वय, सद्भाव र एकताको आवश्यकता पर्दछ । यी दुईको एकताले मात्र मुलुकले स्थायित्वको गन्तव्य अहिलेको परिवेशमा निर्दिष्ट गर्दछ । सरकारको स्थायित्व र जनताले अनुभूति गर्ने खालका कामले यी दुवै शक्तिले फाइदा पनि लिनेछन् । काम गर्न नसकेको अपजस एकले अर्कोमाथि थोपरेर जाने हो भने दुवै ठूला वाम शक्तिहरू विनाशको गोलचक्करमा परेका छन् भनेर भन्दा अनुचित हुने छैन । तसर्थ सफल स्थायी संविधान निर्माण गर्दै मुलुकलाई अग्रदिशा दिन यी दुई शक्तिका बीचमा एकता अहिले अनिवार्य बनेको छ । तसर्थ अहिले देखिएका यी दुई पार्टीका कार्यकर्ताबीचका कटुता, प्रतिशोध, र झगडाको वातावरण रोकिनुपर्दछ । आ आफ्ना कार्यकर्तालाई निश्चित अनुशासन र मर्यादाको दायरामा नेतृत्वले राख्न सक्नुपर्दछ । कार्यकर्ताहरूलाई अनुशासित र राजनीतिक संस्कारयुक्त बनाउनुपर्ने दायित्व पनि हो नेतृत्वको । यसो भएमा दुई पार्टी बीच समझदारी बन्नेछ । तर यत्तिले मात्र कार्यभार पूरा हुने मानिदैन । संविधान दुई तिहाइले अनुमोदन गर्नुपर्ने प्रावधान अनुसार यी दुई शक्तिको बीचको एकता पहिलो सर्त बनेको हो । अब संविधान निर्माणका लागि चाहिने दुई तिहाइको प्रावधान र राष्ट्रिय अखण्डताका दृष्टिले राष्ट्रिय दर्जाकै ठूलो राजनीतिक शक्तिको उपस्थिति आवश्यक पर्दछ । अहिले त्यो राजनैतिक शक्ति भनेको नेपाली काँग्रेस हो । किनकि जे भए पनि भोलिका दिनमा पनि नेपाली काँग्रेस राज्य विखण्डनको पक्षमा भने उभिदैन ।

संविधान निर्माणको सवालमा राज्य विखण्डनका धारमा उभिएकाहरूले सरकार छोडेर बाहिर सडकमा गए पनि संविधान जारी गर्नैपर्दछ र त्यो अवस्थामा काँग्रेसले पनि सरकार बाहिर छु भनेर चुप लागेर बस्न सुहाउँदैन । तसर्थ नेपाली काँग्रेसले पनि संविधान निर्माण गर्न जिम्मेवार हुने हो भने अहिलेदेखि नै विरोधी मानसिकता त्यागेर सहयोगीको भागिदारी हुन जरुरी छ । नत्र अहिले असहयोगी बनेका कारण भोली संविधान निर्माणका काममा जटिलता उत्पन्न भएमा त्यसको आरोपबाट नेपाली काँग्रेस पनि मुक्त हुनसक्दैन । भाषा, क्षेत्र, धर्म तथा सम्प्रदायका विविध अभिव्यक्तिका कारण मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामा जटिलता थपिदै गएको अहिलेको सन्दर्भमा संविधान निर्माण सहजै बन्ने कल्पना गर्न सकिदैन । जसले जे भनोस् यही परिस्थिति रहीरहे तोकिएको समयमा संविधान बन्दैन, ठोकुवा गरे हुन्छ । संविधान समयमै बनाउने हो भने माओवादी, एमाले तथा काँग्रेस जस्ता ठूला र राष्ट्रिय एकताको पक्षमा उभिएका दलहरूका बीचमा एकले अर्कामाथि लगाउने आरोप प्रत्यारोपको संस्कृति परित्याग गरी निश्चित कुरामा सहमतिर सहकार्यको संस्कार आजै देखि अवलम्बन गर्न जरुरी छ । यसमा कोही अर्घेलो बन्नु भनेको जनताबाट दण्डित हुन तयार हुनु हो भन्ने बुझ्न पनि जरुरी छ । अहिलेलाई कामना गरौं यिनीहरुमा समयमै बुद्धि पलाओस् ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »