Banner

गोविन्द पोखरेल । चार वर्षअघि देखिएको सहमति, सहकार्य र प्रतिबद्धता अहिले बीच सडकमा बेवारिसे अवस्थामा छ । गणतन्त्र स्थापना गर्न देखिएको एकता अहिले नराम्रोसँग भत्किएको छ । राजनीतिक यात्राका चारवर्षे छोटो समयमा नै पार्टीका सहकर्मी नेताहरूमा देखिएको अहं, एक अर्काप्रतिको नकारात्मक सोच र विश्वासको सङ्कटले थुप्रै पाठ सिकाएको छ तर ती पाठबाट सिकेर अगाडि बढ्ने जमर्को गर्ने छाँट नेताहरूमा अहिले पनि देखिएको छैन ।

यो बीचको समय नेपालको हकमा ऐतिहासिक रहृयो । २ सय ४० वर्षदेखि शासन गर्दै आएको राजसत्ता हट्यो । मुलुकमा गणतन्त्र आयो । संविधानसभाको निर्वाचन भयो । १० वर्ष देखि सशस्त्र युद्धमा होमिएको माओवादी शान्ति प्रक्रियामा आएर संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भयो । नेपालका हकमा उल्लिखित उपलब्धिहरू चानचुने थिएनन् । तर, प्रश्न उठ्नथालेको छ, जनताले के पाए ? २०६२।६३ को जनआन्दोलन सबै पार्टीको एकता साथै परिवर्तनकामी जनताको उत्साहबाट सम्भव भएको थियो । विदेशी शक्तिहरूले पनि दिल खोलेर सहयोग गरेका थिए । तर, जब सहमति, सहकार्य र एकताको बाटो परित्याग गर्दै नेताहरूले आ-आˆनो पुन्तुरो बोकेर नजाने गाउँको बाटो सोध्नथाले तब सही मार्गमा अगाडि बढ्दै गरेको राजनीतिक यात्रा थला पर्‍यो ।

विदेशी मात्र होइन सहयोगीहरू पनि सशंकित बने । जसले गर्दा शान्ति प्रक्रिया अवरुद्ध भयो र संविधान लेखिएन । सत्ता मोहले मस्त रोगीहरूले न त शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने चेष्टा गरे न त संविधान लेख्ने कार्य नै सम्पन्न गरे । संविधानसभा निर्वाचनपछिको समय एकले अर्कालाई खुइल्याउँदै नेताहरूले खेर फाले । वास्तवमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको देहावसानपछिको समय त राजनीतिक हिसाबले काहाली लाग्दो देखिँदैछ । यो समयमा सहमति नै समस्या समाधानको एकमात्र रामवाण थियो । तर, त्यो रामवाण चलाउन कोही अघि सर्न सकेन । अर्काको आङतिर चोर औंलो ठड्याउँदै लिखा देखाउने काम मात्र भयो । समय बित्दै गयो र जेठ १४ पनि आउन लाग्यो । आफैंले निक्र्योल गरेको समयमा संविधान नबन्ने भएपछि अहिले प्रतिपक्षमा रहेको माओवादी सत्ता कब्जाको रणनीति अन्तर्गत अगाडि बढ्दै छ भने २२ दलको गठबन्धन सरकार सत्ता नछोड्ने पक्षमा लागेको छ । यसले के स्पष्ट गर्छ भने चार वर्ष अघि मित्रतामा विश्वास गर्ने पार्टीहरू अब तिनै मित्रलाई शत्रु देख्नथाले । चार वर्ष अगाडि सहकार्य, सहमति, सहअस्तित्व र सहयात्रालाई जनअपेक्षित गणतन्त्र नेपालको संविधान निर्माण नभएसम्म सँगै लाने प्रण गर्नेहरू अहिले बेग्लै भए ।

उनीहरू अहिले एकले अर्काको अस्तित्व स्वीकार गर्न पनि चाहिरहेका छैनन् । जसले गर्दा गणतन्त्र नेपालको शान्ति र संविधानको प्रक्रियाबीच सडकमै अलपत्र पर्‍यो । समय सधैँ एकनासको रहँदैन र राजनीतिमा कोही आˆनो हँुदैन साथै सधैँ कोही दुश्मन पनि रहिरहँदैन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएका बखत एकीकृत नेकपा एमाले सत्ता साझेदार बनेको थियो । अहिले नेपाली काङ्ग्रेस सहित २२ दलको सहयोगमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएको छ । भोलि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने र माओवादीले साथ दिने हुनसक्छ । वास्तवमा राजनीतिमा कोही सत्रु कोही मित्र हुँदैन । तर, यो भनाइ संविधान लेखन कार्य र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने सवालमा समेत लागू गर्दा मुलुक अनिर्णयको बन्दी बन्न विवश भयो । यी दुईवटा महìवपूर्ण सवालमा मित्रता मात्र हुनुपथ्र्यो । विनाशकाले विपरीत बुद्धि भने जस्तै हुने अवस्था छ । आजभन्दा ४ वर्ष अगाडि प्राप्त भएको उपलब्धि गुम्ने होकि भन्ने शंका गर्ने ठाउँ पनि प्रशस्त देखिनथालेका छन् । यस्तो नहोस् भन्दै सबै क्षेत्रबाट नेताहरूलाई सचेत गराउने काम भए पनि त्यसको चस्को नेताहरूमा पसेको पाइँदैन ।

नेताहरूको गतिविधका कारण मुलुकले शान्ति र अग्रगमनमा प्रगति गर्न नसकेको ठहरपछि यथास्थितिवादीहरू सलबलाउनु स्वाभाविक हो । यसैको परिणति हो पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अभिव्यक्ति । अब नेताहरूलाई जनस्तरबाट पनि आरोप लाग्न थाल्छ । बडो विश्वास साथ नेपाली जनताले जीवनको पर्वाह नगरी नेताहरूलाई सुम्पिएको दायित्व पूरा हुँदैन भने त्यो विश्वासघात हो । जब विश्वासघात हुन्छ तब छिटै परिवर्तन चाहने जनता पिठ्यँु फर्काउन बाध्य हुन्छन् । चार वर्ष अघिको त्यो क्षण सम्भिmएर जनता अहिले पनि रोमान्चित हुन्छन् भने नेता झोक्राउन विवश छन् ।

अहिले थुप्रै प्रश्न उठ्न थालेका छन् । के अब नेपाली जनताले संविधान पाउलान् ? के शान्ति प्रक्रियालाई यिनै नेताहरूले तार्किक निष्कर्षमा पुर्‍याउलान् ? यसका साथै अब जेठ १४ गते संविधान नबन्ने भएपछि मुलुकले संवैधानिक रिक्तता व्यहोर्नु पर्ने हो ? यी प्रश्नहरूको उत्तर अहिलेकै अवस्थमा सहज छैन । वास्तवमा मुलुक गम्भीर संकटतिर अग्रसर हुँदैछ । सङ्कटमोचनाका लागि जनताले विश्वास गरेका व्यक्तित्वहरूबाटै विश्वासघात भएकै हो । यसलाई सबैले स्वीकार गर्नुपर्छ । यो मित्थ्या आरोप होइन । माथि उल्लेखित प्रश्नहरूको उत्तर दिन परिस्थितिको ठोस् विश्लेषण गरेर नेताहरू तयार हुनुपर्छ । भावावेशमा आएर एकले अर्कालाई आरोप लगाउँदैमा अब उम्किने ठाउँ रहेन । चर वर्ष अघि मिलेर त्यत्रो आन्दोलन हाँक्ने नेताहरूले जब सत्ताको स्वाद पाउनुभयो तब त्यसकै वरिपरि घुम्न रुचाउनु भयो ।

शाहले, राणाले वा पञ्चहरूले सत्तालाई नै सर्वोपरि ठान्ने र शक्ति जति आफैंमा निहित राख्नुको कारण पनि हाम्रा नेताहरूले प्रस्ट पार्नुभयो । त्यो सत्ता भन्ने वस्तु स्वादिलो हुन्छ । त्यसैले छोड्न मन लाग्दैन । सत्ताले गर्दा मिलेर जान सक्ने थुप्रै बाटामा तघारो लागे । त्यसमा एकले अर्कालाई तघारो लगाउनुपर्ने खासै कारण थिएन । तथापि एकले अर्कालाई वञ्चित गर्न तगारो लगाइए । अब पनि एकले अर्काको अस्तित्व नस्वीकार्ने हो भने संविधान पनि बन्दैन र शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्दैन । यसले सबैलाई क्षति पुर्‍याउँछ । बेलैमा सोचौं र एकले अर्काको अस्तित्व स्वीकार गर्दै सहमति, सहकार्य र एकतामै जोड दिउँ भन्ने भावना जगाउँ । यसैमा मुलुक र जनताको भलाइ छ । अब एकले अर्कालाई आरोप लगाएर जनतालाई नढाँटौं । बेवारिसे सहमतिलाई वारिस दिने प्रतिबद्धता भए सबै समस्याको समाधान हुन्छ ।

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »