Banner

शम्भु श्रेष्ठ । नेपालको इतिहासमा धेरै पटक राजनीतिक परिवर्तन भएका छन् । यी परिवर्तनहरू आफैँ भएका होइनन्, जनताले गरेका परिवर्तन हुन् । जनताले चाहृयो भने के हुन्न ? जे पनि हुन सक्छ भन्ने कुराको उदाहरण हाम्रै देशमा पनि धेरै भेट्टाइन्छ । तर, दुर्भाग्य जतिसुकै ठूलो राजनीतिक परिवर्तन भए पनि त्यसले मुलुकलाई समृद्धि प्रदान गर्न सकेको छैन । हामी गरिबी, अशिक्षा, रोग, भोक र शोकमै रमाई रहेका छौँ । गरिबी र अशिक्षा हाम्रा लागि राजनीति गर्ने अस्त्र बनेको छ । तिनै गरिब जनतालाई हामीले विश्वसामु 'मागीखाने भाँडो' बनाएका छौँ । यो भन्दा लाजमर्दो कुरा अरू के हुनसक्छ ?

प्रसङ्ग मे दिवसको हो । अन्तर्राष्ट्रिय मे दिवसमा विश्वका जनता खुसी मनाइरहँदा हामी नेपाली जनता भने बन्धक बनिरहेका थियौँ । अनिश्चयकालीन आम हड्तालले आम जनता कष्टकर जीवन बिताउन बाध्य थिए । राजधानी काठमाडौँ पूरै आतङ्कित थियो, मानौँ काठमाडौँमा ठूलै क्रान्तिको तयारी भइरहेको छ ।

गाउँगाउँबाट लाठी, खुकुरी बोकेर काठमाडौँ भित्रिएका माओवादी कार्यकर्ताहरूको 'मार्च पास' र माओवादी नेताहरूको क्रान्तिकारी भाषणले सर्वसाधारणमा ठूलो त्रास उत्पन्न भएको थियो । 'राज्यसत्ता कब्जा' गर्ने उद्घोषका साथ अन्तिम लडाइँ लड्न टाउकोमा रातो फेटा बाँधेर काठमाडौँ भित्रिएका हजारौँ माओवादी लडाकुहरूलाई के थाहा थिएन भने- यो आन्दोलन राज्यसत्ता कब्जा गर्ने आन्दोलन होइन, यो त माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउने आन्दोलन हो भन्ने कुरा आˆनै कार्यकर्तालाई ढाँटेर, झुक्याएर गरिने आन्दोलन धेरै दिन टिक्दैन भन्ने कुरा माओवादी नेताहरूले नबुझेका होइनन्, तर जानीजानी 'नाङ्लो ठटाएर हात्ती तर्साउन' उनीहरूले मे एक तारेखलाई उपयोग गरेका हुन् ।

यहाँसम्म त ठीकै थियो । जब माओवादीले काठमाडौँका जनतासामु घुँडा टेक्नुपर्‍यो, तब माओवादी अध्यक्ष दाहालले खुलामञ्चबाट काठमाडौँका सचेत जनतालाई जुन भाषा, जुन शब्द र जुन शैलीले 'गाली' गरे- त्यसले काठमाडौँबासीका मनमा कतिसम्म चोट पारेको रहेछ भन्ने कुरा संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको वक्तव्यदेखि दिनहुँ पत्रपत्रिकामा छापिने लेख रचनाबाट स्पष्ट हुन्छ ।

भलै, गाउँबाट नाङ्गो खुट्टा काठमाडौँ हेर्न आएका माओवादी कार्यकर्ताहरूलाई सान्त्वना दिन अध्यक्ष दाहालले काठमाडौँबासीलाई गाली गरेका होलान् । तर दाहाल जस्तो नेता त्यति तल्लोस्तरमा उत्रन हुँदैन थियो भन्ने धेरैको भनाइ छ । त्यस दिनको भाषणले दाहालप्रति काठमाडौँबासीको आस्था र विश्वास त ढलेको छ नै, यसले सिङ्गो माओवादी पार्टीलाई पनि आम जनताबीच नङ्ग्याउने काम गरेको छ । मैलै सुरुमै उठाउन खोजेको कुरा के हो भने, मुलुकमा जनताले जतिसुकै ठूलो परिवर्तन ल्याए पनि त्यसलाई हाँक्नसक्ने नेता जनताले पाउन सकेनन् । नेताहरूमा जुन प्रकारको राजनीतिक संस्कार र चरित्र हुनुपर्ने हो, त्यो मै हुँ भन्ने नेतामा पनि देखिएन ।

जबसम्म नेताहरूमा राजनीतिक संस्कारको अभाव हुन्छ, तबसम्म लोकतन्त्र सुदृढ हुन सक्दैन । लाकेतन्त्र भन्नु नै राजनीतिक मूल्य र मान्यता हो । विचार, दर्शन, सिद्धान्त जतिसुकै राम्रो भए पनि त्यसलाई हाँक्ने नेताहरूमा राजनीतिक इमानदारी र राजनीतिक संस्कार भएन भने नचाहेर पनि जनताले बेथिति भोग्नुपर्ने हुन्छ । भोग्नु परिरहेको पनि छ । नेपाली जनता यही अवस्था भोग्न नपरोस् भन्ने पक्षमा छन् । नेपाली जनता राजनीतिक दलका नेताहरू मिलेर देश बनाऊन् भन्ने पक्षमा छन् । नेपाली जनता चीन, अमेरिका, जापान, स्वीजरल्याण्ड जस्तै समृद्ध देश नेपाल पनि बनोस् भन्ने पक्षमा छन् । नेपाली जनता अब कुनै पनि बहानामा मारिनु, काटिनु र रेटिनु नपरोस् भन्ने पक्षमा छन् ।गत शुक्रबार  वसन्तपुर डबलीमा उर्लिएको लाखौँ सङ्ख्याको मानवसागर र तिनका हातले उठाएको राष्ट्रिय झण्डा त्यही शान्ति, समृद्धि र राष्ट्रिय एकताको सन्देश थियो । यो कुरा माओवादीले बुझ्नुपर्छ ।

 

Add comment


Security code
Refresh

  • तस्बिर समाचार
  • धेरै पढिएको
  • सडकमा खेल ! ललितपुरस्थित पुल्चोकमा फुटबल खेल्दै स्थानीय युवाहरू । हिजो बसेको केन्द्रीय समितिको बैठकले बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गर्ने घोषणा गरेको थियो । कांग्रेसले आयोजना गरेको बन्दमा देशभर ठप्प रह्यो । तस्वीर : दिपेन्द्र बज्राचार्य

    ठूलो आकृति »