ललितपुर । रातो मच्छिन्द्रनाथको हरेक वर्ष मनाईने जात्रा विधिवत् प्रारम्भ भएको छ । ललितपुरको लगनखेलस्थित मच्छिन्द्रनाथको महास्नान अर्थात ल्वहों पश्चात् जात्राको विधिवत् प्रारम्भ भएको हो । महास्नानको अवसरमा गुरुजु पल्टनबाट सलामी दिइएको थियो भने स्नानको लागि रातो मच्छिन्द्रनाथलाई विधिवत् पूजाआजा गरि स्थानीय तंबहालबाट लगनखेल पुर्याइएको थियो । महास्नानको भोलीपल्टबाट पुल्चोकमा जात्राको लागि रथको निर्माणकार्य थालिएको छ ।
जात्राको लागि बनाइएको रथ १५ दिन भित्र सिध्याउनुपर्ने प्रावधान छ भने आमाको मुख हेर्न दिनको भोलीपल्ट रथमा रातो मच्छिन्द्रनाथ विराजमान गराइन्छ । र त्यसको चारदिन पश्चात् रथयात्रा प्रारम्भ हुन्छ । जात्राका लागि स्थानीय सितुंगा पुँखुमा बेत भिज्याउनुपर्छ भने रथ निर्माणमा संलग्न हुनेले रथ निर्माणको अवधिभर निकै कडा नियममा रहनुपर्छ । यसपालिको जात्राको लागि १५ लाख बजेट विनोयोजित गरिएको गुठी संस्थानका प्रमुख राममणि आचार्यले बताउनुभयो ।
रथ निर्माणदेखि रथयात्रा सम्मका प्रत्यक्ष संलग्न रहनेका लागि २०६२ देखि लागु गरिएको बिमा पनि जारी रहेको जानकारी दिँदै यसपालि भने दुई चरणमा पटके बिमा गरिने बताए । बिमा अन्तर्गत प्रत्येकको १ लाख र अक्षय कोष पनि निरन्तरता दिइएको वहाँले जानकारी दिनुभयो । रथारोहणको चारदिन पछि रथ तान्ने परम्परा रहँदै आएपनि यसपालि भने रथारोहण लगत्तै मधुमासको तिथि पर्ने आएकोले रातो मच्छिन्द्रनाथको रथ पुल्चोकमा १ महिना राखिनेछ ।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this