काठमाडौ - राजधानीको मुख्य पर्यटकीयस्थल बौद्ध स्तुपा (छ्योर्तेन) भित्रको प्राचीन अजिमा देवीको मूर्तिलाई अढाई दशकपछि जीर्णोद्धार गरेर नयाँ स्वरूप प्रदान गरिएको छ । २०४२ सालमा चाँदीको पाता र सुनको जलपले यसको जीर्णोद्धार गरिएको थियो । बौद्ध घ्याङ गुठीको पहलमा बौद्धनाथ क्षेत्र विकास समितिले स्थानीयवासीको आर्थिक सहयोगले १८ तोला सुनको लेप प्रयोग गरी मूर्तिलाई सुन्दर स्वरूप दिएको हो । बौद्ध धर्मालम्बी स्थानीय तामाङ्गहरूले यसलाई इष्टदेवीका रूपमा पूजा गर्छन् ।
'प्राचीन धरोहरबारे युवा पुस्ता र पर्यटक दुवैले जानुन् भन्ने उद्देश्य हो,' बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष दीपेन लामाले भने, 'पर्यटक र शोधकर्ताको ओइरो लाग्ने यो थलोमा अजिमा खोज र अध्ययनको सशक्त विषय हो ।' तिब्बती भाषाको पुस्तक 'काथाङ घुइपा' का अनुसार सातौं शताब्दीमा विश्वको आठ पवित्र स्थलमा अजिमाको स्थापना गरिएको थियो । तीमध्ये तिब्बत, भारत र नेपालका दुई/दुई स्थलमा, श्रीलंका र मलेसियाका एक/एक स्थलमा यो मूर्तिको प्राण प्रतिष्ठापन गरिएको थियो । काठमाडौंको स्वयम्भुको हारतीमा अजिमाको अर्को मूर्ति छ ।
तामाङ्ग भाषामा मम् ठकुरानी, मम् पुकोसिद्धि, नेवारमा अजिमा, छस्कामुनि, तिब्बती भाषामा पुकासिदी र संसारभरि 'मम्' को नामले पुजिने यस देवीको अर्थ नेपाली भाषामा बज्यै हुन्छ । प्रत्येक गुम्बामा स्वदेश र विदेशका सयदेखि ५ सय भिक्षु- भिक्षुणीहरू बौद्ध धर्मबारे विद्या आर्जन गर्न आउने गर्छन् । बौद्ध क्षेत्रमा ४० वटा गुम्बाहरू निर्माण भइसकेका छन् र केही निर्माण हुने क्रममा छन् ।

Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this