काठमाडौं – युथ ओलम्पिक खेलकुदमा तेक्वान्दोको सहभागिता नभएको विरोधमा गठित सङ्घर्ष समितिले आइतबार युवा तथा खेलकुद मन्त्रालय तोडफोड गरेको छ। राष्ट्रिय छनोट प्रक्रिया पूरा गरेर दक्षिण कोरियामा एक महिना विशेष प्रशिक्षणसमेत गरेका चार खेलाडीलाई मेक्सिकोमा सम्पन्न विश्व जुनियर च्याम्पियनसिप (ओलम्पिक छनोट) मा भाग लिनबाट वञ्चित गरिएको विरोधमा फागुन दोस्रो साता सङ्घर्ष समिति गठन भएको थियो। समितिले मन्त्रालयसमक्ष फागुन १८ मै ६ बूँदे ज्ञापनपत्र बुझाएकोमा कुनै सुनुवाई नभएको भन्दै आइतबार मन्त्रालय घेराउको कार्यक्रम गरेको थियो।
घेराउको क्रममा आक्रोसित खेलाडीले मन्त्री गणेश तिवारी नेपालीको प्रतीक्षा गर्ने क्रममा मन्त्रालयको भर्याङ, नेम प्लेट तथा सहसचिव रणबहादुर श्रेष्ठको कार्यकक्षमा तोडफोड गरेका थिए। संघर्ष समितिको ज्ञापनपत्रलाई सम्बोधन गर्ने क्रममा मन्त्रालयकेा निर्देशनअनुसार सहसचिव श्रेष्ठले तयार पारेको प्रतिवेदनमा पनि खेलाडीले आपत्ति जनाएका थिए। 'यो प्रतिवेदनले हाम्रो मागमा कुनै सम्बोधन भएको छैन। नेपालले युथ ओलम्पिक नै बहिष्कार गर्नुपर्ने, दोषी पत्ता लगाएर आवश्यक कार्वाही गर्नुपर्ने, पीडित खेलाडीलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्नेलगायतका माग राखेका थियांै,' संघर्ष समितिका संयोजक तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जीव रेग्मीले मन्त्री नेपालीसँग भने- 'खेलकुदको अभिभावक तपाई हो, त्यसैले तपाईले नै यो समस्या मिलाउनुपर्छ। यो विषयमा सम्बन्धित सबै पक्षलाई एकै ठाउँमा राखेर दूधको दूध पानीको पानी बनाउनुपर्यो। भविष्यमा यस्तो नहोस् भन्ने हाम्रो माग हो।'
मन्त्री नेपालीले सोमबारसम्म सबै पक्षलाई एकै ठाउँमा राखेर समस्या समाधान गर्ने आश्वासन दिएपछि घेराउका लागि पुगेका तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक मन्त्रालयबाट फर्केका थिए।
Twitter
Facebook
Myspace
Digg
Del.icio.us
StumbleUpon
Yahoo
Googlize this