Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । भारतको उत्तर प्रदेशबाट थप १३ नेपालीको उद्धार गरिएको छ ।
दिल्लीस्थित नेपाली दुताबासका अनुसार उत्तर प्रदेश प्रहरी र किन इण्डिया नामक संस्थासँगको समन्वयमा देहरादूनबाट १३ जना नेपाली नागरिकको उद्धार गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई हस्तान्तरण गरिएको छ ।
यसअघि सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर सञ्जालीय ठगीमा पारिएका ४५३ जना नेपाली नागरिकलाई भारतको कुशीनगरबाट उद्धार गरिएको थियो ।
उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय र किन इण्डियासँगको समन्वयमा गरिएको उक्त उद्धारपछि उनीहरूलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाइएको थियो ।
राजदूतावासका अनुसार रुपन्देहीमा बुझाइएका केही व्यक्तिले पछि दिएको जानकारीका आधारमा, कुशीनगरमा उद्धार गरिएका केही पीडितलाई पछि देहरादूनतर्फ सारिएको र त्यस समूहमा ठगी धन्दामा संलग्न हुन सक्ने व्यक्तिहरू समेत मिसिएको आशंका गरिएको थियो।
सोही सूचनाका आधारमा उत्तराखण्ड प्रहरी, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, किन इण्डिया तथा अन्य सहयोगी निकायसँगको समन्वयमा देहरादूनमा थप खोजी तथा उद्धार कार्य अघि बढाइएको दुताबासले जानकारी दिएको छ ।
पीडितहरूका अनुसार यस्तो ठगी सञ्जालमा सुरुमा सानो रकम माग गरिन्छ, त्यसपछि क्रमशस् ठूलो रकम असुल्ने, धेरै सदस्य बनाउन दबाब दिने र तोकिएको लक्ष्य पूरा गर्न नसके शारीरिक तथा मानसिक यातना दिने गरिएको पाइएको छ । महिलाको हकमा यौन शोषणसमेत हुने र एकपटक फसेपछि सञ्जालबाट बाहिर निस्कन कठिन हुने अवस्था सिर्जना हुने गरेको उनीहरूको भनाइ छ ।
राजदूतावासले आकर्षक रोजगारी, छिटो र अस्वाभाविक आम्दानीको प्रलोभन देखाउने विज्ञापनबाट सावधान रहन आग्रह गर्दै कुनै पनि कामका लागि रकम वा कागजात बुझाउनुअघि त्यसको वास्तविकता र वैधता राम्रोसँग जाँच गर्न सबैलाई दुताबासले अनुरोध गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij