Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा रेमिट्यान्स ४१.२ प्रतिशत बढी भित्रिएको हो। यस अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्याकंमा उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। २०८३ वैशाख महिनामा विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।
खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८० अर्ब २८ करोड रहेको थियो।
१० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ( संस्थागत तथा व्यक्तिगत - नयाँ ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij