Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्वार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेद्वारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।
‘देउवाजीले मलाई पार्टीको निर्णय मान्नुुपर्छ भनेर भन्नुभएको हो । मैले पनि पार्टीको निर्णय मान्छु भनेकै हो । अर्को एउटा कुरा के पनि हो भने, पार्टीको आधिकारीक निर्णय भन्दा बाहिर जाने क्षमता पनि नभएकाले मैले त्यो विज्ञप्ति निकालेको हो । उहाँले उम्मेद्वारी फिर्ता लिनका लागि प्रेसर गर्नु भएकै हो’, कँडेलले भने ।
गृह जिल्ला गोरखा भएका जसपा संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । सोही कारण भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग जसरी हुन्छ तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।
जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाए सरकार ढाल्ने बताएपछि देउवाले गत शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा आफ्ना पार्टीका मेयर पदका उम्मेद्वारको उम्मेद्वारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।
तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेद्वार दिपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेद्वारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij