Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी रहेको बताएका छन् ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै, उनले भने, “नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँचवर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनमतको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,”।
महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौँको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताउँदै, उनले थपे, “पाँच वर्षमा काठमाडौँ महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,”।
उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताए । यस्तै उनले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौँका मतदातासँग आग्रह गरे ।
यसैगरी सो क्रममा गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौँ महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौँको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गरिन् ।
नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij