Jun 04 2026 | २०८३, जेठ २१ गते
प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ सुरुआती चरणमा ६ वटा क्यामेरा प्रयोगमा
काठमाडौं ।
महेन्द्रनगर। कञ्चनपुर प्रहरीले पहिलोपटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।
प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ सुरुआती चरणमा ६ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
“सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ,” उनले भने, “प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ।” उनले सुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पुर्याउने योजना रहेको बताए।
क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो। “हरेक दिनको भिडिओसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ,” प्रवक्ता थापाले भने, “ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ।”
उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए। सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ। “सवारी जाँचका क्रममा प्रहरीबाटै दुर्व्यवहार भएका गुनासा पनि आउँछन्,” उनले भने, “अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ।”
प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ। दुई दिनमा ५८ सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ। “पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारबाही गर्दा गरियो,” थापाले भने, “ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ।”
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij