Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको कामसँगै आउँदो योजना सार्वजनिक गर्नुभएको छ । उहाँले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गर्नुभएको हो ।
यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवाद निरुपण भएको उहाँले जानकारी दिनुभएको छ । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उहाँको भनाइ छ ।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल गठन भएको, शिक्षा क्षेत्रमा सुधारको प्रयास भएको, इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न पहल गरेको, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण सुरु गरेको, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता दिएको विवरण उहाँले सार्वजनिक गर्नुभएको छ ।
उपमेयर डंगोलले करको दायरा वृद्धि गरी वैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजस्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजीकरण भइरहेको, सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको, सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारबाही अघि बढेको लगायतका योजनाबारे पनि जानकारी दिनुभएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij