Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ। पाकिस्तानमा हालैको बाढी-पहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडीए तीन सय ३० जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो। राहत सामग्री कराँची पठाउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले अत्यावश्यक औषधी तथा राहत सामग्री पठाइएको बताएका छन् ।
यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ। नेपालबाट प्रदान गरिने राहत सामग्रीको संयोजन तथा समन्वयमा परराष्ट्रमन्त्री डा। नारायण खड्काको निरन्तर पहलबाट भएको मन्त्रालयले जनाएको छ।
विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले कराँची जाने टोलीलाई बिदाइ गरेका थिए। राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो। टोलीमा गृहमन्त्रालय, अर्थमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन्।
पाकिस्तानका बाढीपीडितलाई उपलब्ध गराइएको राहत सामग्रीमा अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायत छन्। ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताए।
नेपाल एयरलाइन्सको उडान नं २१७१ जहाजले काठमाडौँ-कराँची उडान भरि साँझ कराँचीबाट काठमाडौँ फर्कने उडान तालिका रहेको छ। राहत सामग्री बोकेको जहाज केहीबेरअघि कराँची प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij