Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले आज सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । आइतबार पोखरामा भएको यति एयरलाइन्समा दुर्घटनामा परी मृत्यु भएका ३८ वर्षीय अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवारकसहित १० महिनाको छोरोका निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको हो ।
आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान उपकुलपति स्तरीय निर्णयले निधन भएकाको सम्झनामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको हो। श्रेष्ठ ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए । उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए ।
‘दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली साथ परिवार जनप्रति हार्दिक समवेदना अर्पण समेत गर्दै उहाँको सम्झनामा सोमबारका दिन आकस्मिक बाहेकका सबै सेवा बन्द गरिनेछ,’ सूचनामा भनिएको छ ।
त्यसै गरी, नेपाल चिकित्सक सङ्घले आजीवन सदस्य स्व डा सुशील श्रेष्ठ, स्व डा.शोना दिवाकर उनीहरूका १० महिने छोरा तथा स्व डा. गणेश थापाको असामयिक निधन भएकोमा दुख व्यक्त गरेको छ।
महासचिव डा.बद्री रिजालले एक विज्ञप्ति जारी गर्दे निधनले सङ्घ स्तब्ध भएको र नेपालको चिकित्सा क्षेत्रका उज्ज्वल नक्षत्र गुमाएको उल्लेख गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा.श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमासमेत काम गरेका थिए ।
उनले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् । श्रेष्ठ स्पाइन सर्जरीसम्बन्धी फेलोसिपमा उनी सिंगापुर जाने तयारीमा थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij