Jun 18 2026 | २०८३, असार ४ गते
ललितपुर । प्रहरीले ललितपुरमा प्रेस लेखिएको पिकअप गाडीबाट साढे २० लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरेको छ। साथै, गाडी चालक र त्यसमा सवार अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूका साथबाट अन्य व्यक्तिको नामको म्याद गुज्रिएको ३ थान प्रेस पास पनि बरामद भएको छ।
आइतबार ललितपुर महानगरपालिका-२६, चिवहालबाट म्याद सकिएको प्रेस परिचयपत्रवाहक सवार व्यक्तिहरू चढेको पिकअप चेकजाँच गर्दा उक्त अवैध सामान बरामद भएको हो।
प्रहरी वृत्त चापागाँउबाट नियमित चेकजाँचका लागि खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको हो। बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुट्खा, कत्थालगायत गरी अन्दाजी २० लाख ७३ हजार ५९० रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो। बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको आईएसयूजेडयू पिकअप गाडीबाट ती सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै, पिकअप चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका १४, डुम्बरवाना ३४ वर्षीय दीपकप्रसाद लामिछाने र पिकअपमा सवार भारतको बिहार राज्य, मोतिहारी जिल्ला, छतौनी ग्राम पञ्चायत वडा नं. ११ बस्ने २८ वर्षीय सचिनकुमार चौरसियालाई पक्राउ गरेको छ।
पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहर भवन, पुल्चोक पठाइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij