Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय वस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लामा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकीय वस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका हुन्।
उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराएका छन् ।
उनले पुनर्निर्माण र पुनर्वासका लागि पनि सरकारले खासै काम गर्न नसकेको भन्दै आक्रोशसमेत व्यक्त गरे। सचिव भट्टराईले पहिरोले भत्काएका पुलहरूको निर्माणका लागि आवश्यक जनशक्तिको पनि तत्काल व्यवस्था गर्न सरकारलाई सचेत गराए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij