Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । क्यामेरा कहाँ कसरी प्रयोग गर्ने भन्ने ढङ्ग नपुग्दा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण कँडेलको यतिखेर चौतर्फी आलोचना भइरहेको छ । बुधबार माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की दिवंगत पत्नी सीता दाहालको श्रद्धाञ्जलीका क्रममा कँडेलले आफ्नो भिडिओ खिच्न लगाएको फुटेज भाइरल भएपछि उनीमाथि सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको हो ।
दोहोरी कार्यक्रमका सञ्चालक उनले सँगै काम गर्ने कलाकार छत्र शाहीलाई हतारहतार स्ट्यान्ड सहितको गोप्रो क्यामेरा दिएर पार्थिव शरीरमा फूलमाला पहिर्याएका थिए । उक्त दृष्यले उनमा भिडिओ तथा फोटोका लागि नचाहिँदो किसिमको आशक्ति देखिन्थ्यो ।
त्यति मात्र होइन, उनी त्यहाँ श्रद्धाञ्जली दिन नभइ त्यसको भिडिओ खिच्नकै लागि गएको भन्दै धेरैले कँडेलको आलोचना गरेका छन् । त्यसो त अहिले हातहातमा स्मार्टफोन तथा क्यामेराको पहुँच पुग्न थालेपछि समय, स्थान, परिस्थिति, सन्दर्भ र संवेदनशीलताको ख्यालै नराखी फोटो तथा भिडिओ खिच्ने प्रवृत्ति बढेको छ ।
कृष्ण कँडेल प्रकरणले समेत सामाजिक सञ्जालमा सस्तो लोकप्रियताकै लागि यसरी प्रविधिको दुरुपयोग गर्दा आफ्नै लागि समेत घातक हुनसक्ने जोखिम देखाएको छ । TechPana
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij