Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपांग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाका सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँ बसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी, चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए। हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बरप्लेटमा र केही नक्कली नम्बरप्लेट राखेको अवस्थामा फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ४१७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ। अवैध रूपमा नेपाल भित्र्याइएका १७ सवारीसाधनलाई भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij