
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षीको अवरोध हटाउँदै सदन सञ्चालन गर्ने सभामुख देवराज घिमिरेको प्रयास असफल भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउँदासम्म बैठक बस्न नसक्ने अडान प्रतिपक्षी दलले राखेपछि सभामुखको प्रयास असफल भएको हो ।
सभामुखले सदनको अवरोध हटाउनका लागि सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा आउनुपर्ने अडान कायमै राखेको बताए । ‘सभामुखसँगको छलफलमा हामीले विपक्षी दलबीच भएको तीन बुँदे सहमति नै अघि सारेका छौँ,’ उनले भने ।
प्रतिपक्षी दलले बुधबार भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने, छानबिन समिति गठन गर्नुपर्ने र यस प्रकरणमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने शर्त अघि सारेका थिए । यो शर्त हालपनि कायमै रहेको पाण्डेको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा जानेहरूसँग रकम असुली धन्दा चलाएको कुरा बाहिरिएपछि गृहमन्त्री लेखक विवादमा मुछिएका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयका सहसचिव तीनर्थराज भट्टराई सहितका कर्मचारीमाथि अनुसन्धान अघि बढेपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग प्रतिपक्षीले राख्दै आएको छ ।
सत्तापक्षले भने गृहमन्त्रीले सदनमा पहिले जवाफ दिन पाउनुपर्ने बताइरहेको छ । दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा मंगलबारको प्रतिनिधिसभा बैठक पनि बस्न सकेन । बुधबार दिउँसो एक बजे बोलाइएको बैठक पनि हालसम्म बस्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij