
Jun 11 2025 | २०८२, जेठ २८ गते
काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ ।
प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.२१ र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २.६१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ ।
त्यसैगरी काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij