
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा माल्टामा रहेका एक नेपालीको समुद्रमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) का २४ वर्षीय रोबर्ट न्यौपाने (एलिश) रहेका छन् ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) माल्टाका अनुसार, न्यौपानेको मंगलबार बिहान १ बजे माल्टाको स्लेइमा बिच साइडमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका न्यौपाने विगत २० महिनादेखि माल्टामा कार्यरत रहेका थिए ।
उनको असामयिक निधनले सबैलाई स्तब्ध र मर्माहत बनाएको एनआरएनएले जनाएको छ । साथै,उनको पार्थिव शरीर नेपालमा चाँडो भन्दा चाँडो पठाउनका लागि आर्थिक सहयोग संकलन गर्न गो गेट फन्ड अभियान सञ्चालन गरिएको जनाइएको छ ।
माल्टा तथा गोजोमा रहेका विभिन्न संघ–संस्था, सामाजिक अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायहरूलाई, एनआरएनए माल्टासँग समन्वय गरी आवश्यक सहयोग र सहकार्य गर्न पनि अनुरोध गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij