
Aug 06 2025 | २०८२, साउन २१ गते
काठमाडौं । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललाई सामाजिक सञ्जाल टिकटकमा आलोचना गर्ने युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । ताजिना विष्टलाईआइन्दा व्यक्तिगत लाञ्छना नलाउने गरी प्रहरीले कागज गराएर छाडेको हो ।
मेयर हेमकर्ण पौडेलको सचिवालयले दिएको उजुरीका आधारमा मङ्गलवार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुवै पक्षका बीचमा सहमति भएपछि विष्टलाई छाडिएको बताए ।
उनले भने,‘दुवै पक्षका बीचमा भएको छलफलमा सहमति भयो । विष्टले पनि भिडियो हटाउनु भयो । छलफलमा मेयरको सचिवालयका साथीहरू आउनु भएको थियो ।’
भिडियो विष्टकाविरुद्ध मेयर पौडेलको सचिवालयको तर्फबाट नीराजन पाण्डेको नामबाट इलाका प्रहरी कार्यालय इटहरीमा मङ्गलवार उजुरी परेको थियो ।
उजुरी पाउन साथ इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोली विष्टलाई खोज्दै घरै पुगेको थियो । पछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् ।
छलफलको क्रममा विष्टले लोकतान्त्रिक गणतन्त्रमा विकृति विसङ्गतिविरुद्ध बोल्ने अधिकार सबै नागरिकमा रहेको बताउँदै आफ्नो आवाजलाई नियोजित रूपमा दबाउन खोजेको भन्दै प्रतिवाद गरेकी थिइन् ।
विष्टले इटहरी २ पिपलचौंक पूर्वतर्फको ग्राभेल सडक बर्सेनि बर्खा याममा डुबान हुने र हिँड्न नै नसक्ने अवस्था पुगेको विषयलाई उजागर गर्न खोज्दा प्रहरी लगाई मेयरको सचिवालयले तानासाही व्यवहार देखाएको आरोप लगाइन् ।
उनले बाटो मर्मतका विषयमा पटक पटक गाउँ र टोलमार्फत मेयर पौडेललाई भेट्न उपमहानगरपालिका जाँदा भेट नदिएपछि भिडियो बनाएको दाबी गरिन् । उनले भनिन्,‘यो वडा मेयर पौडेलको आफ्नै वडा हो । समस्याका विषयमा पौडेलले भेट नदिएपछि सुनुवाइका लागि मैले भिडियो बनाएर अपलोड गरेको हुँ ।’
के छ भिडियोमा ?
भिडियोमा विष्ट बाढी कुदिरहेको सडकमा हिँडिरहेकी छन् । हिँड्दै उनले भन्छिन्,‘ १४ जिल्ला ७७ जिल्ला मध्येमा इटहरीका मेयर फटाहा हुन् मेरो नजरमा । तपाइको नजरमा कस्तो हुनुहुन्छ रु प्रतिक्रिया दिन नभुल्नु होला हैत दर्शक वृन्द । भैँसी अहालमा बस्ने पानी जस्तोमा हिँड्नु परेको छ । यो बाटोमा के गर्नु रु पढायो पढायो पाठ सोह्र दुना आठ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij