Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    images
    images
    images

    १.नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा नासा सेक्यूरिटीजले स्पोन्सर गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नासा सेक्युरिटीजको लोगो रहेको नेपाली क्रिकेट टिमको जर्सी अनावरण गरिएको छ । नयाँ जर्सीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले अनावरण गरेका हुन् । नासा सेक्युरिटिजले राष्ट्रिय टिमको जर्सी स्पोन्सर गरे बापत बार्षिक २ करोड ३६ लाख भुक्तानी गर्ने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् । साथै नासा सेक्युरिटीजसँग यो सम्झैता तीन बर्षको हुने पनि खड्काले जानकारी दिए । 

    images

    २.१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    ३.अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिजमा ललित राजवंशीको ठाउमा साहब आलमले खेल्ने भएका छन् । यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो । ललितकी आमाको आइतबार बिहान विराटनगरस्थित निवासमा निधन भएको थियो । नेपाली टोली आज राति टप इन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ ।

    ४.बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँलाई विश्वासको मत दिन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेका छन् । मुख्यमन्त्री बानियाँले आगामी मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने तय भएपछि कांग्रेस-एमाले संसदीय दलले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । बागमती प्रदेश सभाको बैठक मंगलबार दिउसो ४ बजे बस्दैछ । बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

    images

    ५.थाइल्याण्ड र कम्बोडियाबीच जारी युद्धविरामको बीचमा सीमा नजिकै बारुदी सुरुङ विस्फोट भएको छ । यसका कारण सीमामा गस्ती गरिरहेका तीन थाई सैनिक घाइते भएका छन् । पाँच दिनको द्वन्द्वपछि दुई देशबीच युद्धविराम भएको बेला यो घटना भएको हो । रोयल थाई सेनाले थाइल्याण्डको सिसाकेट र कम्बोडियाको प्रेह विहार प्रान्तहरू बीचको क्षेत्रमा बारुदी सुरुङमा पाइला टेक्दा एक सैनिकको खुट्टा काटिएको बताएको छ । अन्य दुई जना घाइते भएका छन् । एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको छ, अर्कोको ढाड र हातमा चोट लागेको छ र तेस्रोको कानमा अत्यधिक दबाब रहेको थाई सेनाले जानकारी दिएको छ । साथै, कम्बोडियाको रक्षा मन्त्रालयले विस्फोटको बारेमा कम्बोडियन फ्रन्टलाइन फोर्सबाट अहिलेसम्म जानकारी प्राप्त नभएको बताएको छ । सीमामा गस्ती गर्दा बारुदी सुरुङ विस्फोटबाट थाई सैनिक घाइते भएको यो तेस्रो घटना हो ।

    ६.एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल उत्तर कोरियासँग पराजित भएको छ । आइतबार भुटानमा सम्पन्न खेलमा उत्तर कोरियाले नेपाललाई ११-० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ । उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५-० ले र भुटानलाई १०-० गोलले पराजित गरेको थियो । यो जितसँगै समुह ए मा तिनै खेल जितेर उत्तर कोरिया एएफसी यू-२० महिला एसियन कपमा छनौट भएको छ । त्यस्तै नेपाल समुह ए मा ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १-० गोलले पराजित गरेको थियो ।

    ७.नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क.नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो । दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

    ८.पाकिस्तानले अमेरिकाले अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्तकीको इस्लामाबाद भ्रमण रोकेको आरोप लगाएको छ । अमेरिकाले अन्तिम समयमा अमिर खान मुत्तकीलाई पाकिस्तान भ्रमण गर्न अनुमति नदिएको आरोप लगाइएको छ। डनको रिपोर्ट अनुसार अमेरिकाले अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्तकीको पाकिस्तान भ्रमण रोकेको छ । रिपोर्टमा मुत्तकी काबुल र इस्लामाबाद बीचको सम्बन्ध सुधार गर्न अगस्ट ४ मा पाकिस्तान भ्रमण गर्न लागेका थिए । यसअघि चीनको सहयोगमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले काबुलको भ्रमण गरेका थिए र सोही शृङ्खलाको एक भागको रूपमा अमिर खान मुत्तकी अर्को बैठकको लागि इस्लामाबाद आउने कार्यक्रम थियो ।

    ९.क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे विराटनगर महानगरपालिका १४ स्थित घरमा निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् । उनी लामो समयदेखी मुटु रोगबाट ग्रसित भएको परिवारले जानकारी दिएको छ ।

    १०.अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने टिमको घोषणा गरेको छ । अगस्त २० देखि ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिदै छन् । हरेक देशले एक अर्काविरुद्ध २-२ खेल खेलेपछि शिर्ष स्थानमा रहने टिम विजेता बन्ने छ ।  नेपालले यस प्रतियोगितामा अगस्त २० मा भारतसँग, अगस्त २२ मा भुटानसँग, अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ । नेपाली खेलाडी: गोलकिपर: झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ । डिफेन्डर: दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक । मिडफिल्डर: डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक, बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल । फरवार्ड:  अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल । 

    ११.थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन् । अगष्ट ९ देखि १० तारिखसम्म भएको उक्त प्रतियोगितामा २७ राष्ट्रका ४ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । थाइल्यान्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीय वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन् । क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन् । त्यसैगरी, पुम्से विधामा दुई राउण्ड जित हासिल गर्दै कास्य पदक हात पारिन् ।

    १२.कागजातहरू स्क्यान गर्न प्रयोग गरिने माइक्रोसफ्टको लोकप्रिय एप माइक्रोसफ्ट लेन्स (पीडीएफ स्क्यानर) बन्द हुँदैछ । एन्ड्रोइडसँगै एप्पल प्रयोगकर्ताहरूले पनि अब यो एप प्रयोग गर्न सक्ने छैनन् । कम्पनीले सेप्टेम्बर १५ देखि एप बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । डिसेम्बर १५ सम्ममा एप पूर्ण रूपमा बन्द हुनेछ । एप बन्द भएका कारण यो एप प्रयोग गर्नेहरूले फाइलहरू स्क्यान गर्न सक्ने छैनन् । यद्यपि, कम्पनीले प्रयोगकर्ताहरूलाई माइक्रोसफ्ट ३६५ कोपाइलट एपमा स्क्यान सुविधा प्रयोग गर्न सल्लाह दिइरहेको छ । माइक्रोसफ्ट लेन्स सन् २०१४ मा विन्डोज फोनको लागि प्रस्तुत गरिएको थियो । पछि यो एप प्ले स्टोर र एप स्टोरमा ल्याइएको थियो । माइक्रोसफ्टका सबै नि:शुल्क एपहरू मध्ये, माइक्रोसफ्ट लेन्स उच्च मूल्याङ्कन गरिएको एप हो, जसको अर्थ प्रयोगकर्ताहरूले यसलाई मन पराउँछन् ।

    १३.जनकपुरमा रेल र कार ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

    १४.युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् । सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा युक्रेनको युद्ध बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला युरोपेली देशले यस्तो बताएका हुन् । बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ- 'किभ बिना युक्रेनमा शान्तिको बाटो खोल्न सकिँदैन ।' ट्रम्प र पुटिन बीचको वार्तामा युक्रेनलाई अझै आमन्त्रित गरिएको छैन । युक्रेनको समावेशीकरण नभएकोमा चिन्तित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन बिनाको कुनै पनि सम्झौता अमान्य हुने बताएका छन् । ट्रम्प पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न इच्छुक भएपनि पुटिनको इच्छा अनुसार पहिलो चरणमा ट्रम्पसँग मात्र छलफल हुन लागेको बताइएको छ ।

    १५.नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको अहिलेसम्मकै उच्च एक लाख ९८ हजार ४ सयमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।

    १६.राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका ९ उम्मेदवारसँग आज छलफल गरेको छ । प्रवक्ता मनिष झाका अनुसार आज दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवार बन्न आवेदन दिएका पार्थिवेन्द्र उपाध्याय, शुलभ खरेल, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्यालसँग छलफल गरेको हो ।  छलफलको मोडरेसन सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्यले गर्ने छन् भने छलफलको अब्जर्भेसन केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठकले गर्ने प्रवक्ता झाले जानकारी दिएका छन् । त्यस्तै रास्वपाले आजको छलफलपछि २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्ने, साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने र भदौ १२ गते बिहानदेखि साँझ ५ बजे उम्मेदवार छनौटका लागि प्रारम्भिक मतदान हुने रास्वपाले जनाएको छ ।

    १७.प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका हुन् । शुक्रबार राति भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आइतबार बिहान प्रधानमन्त्री ओलीले शित्तल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

    १८.बलिवुडको ब्लकबस्टर फिल्म शोले निर्माण ५० बर्ष भएको अवसरमा आगामी सेप्टेम्बरमा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवले फिल्म सेप्टेम्बर ६, २०२५ मा टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा विशेष प्रिमियर हुने जानकारी दिएको छ । टोरन्टोको रोय थमसन हलमा १८०० सिट क्षमताको साथ प्रदर्शन भव्य हुने भएको छ । सिप्पी फिल्म्ससँगको सहकार्यमा, फाउन्डेसनले फिल्मलाई फोर केमा पुनर्स्थापित गरेको छ ताकि नयाँ पुस्ताले यसलाई हेर्न सकून् । फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान, जया बच्चन र हेमा मालिनीलगायतको अभिनय रहेको छ । १९७५ मा रिलिज हुँदा यसले बक्स अफिसको रेकर्ड तोडेको थियो र सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो । यो अझै पनि विश्वभर २५ करोडभन्दा बढी दर्शकहरू भएको सबैभन्दा धेरै हेरिएको भारतीय फिल्म हो । अमिताभ बच्चन, जया बच्चन, धर्मेन्द्र, संजीव कुमार, अमजद खान र हेमा मालिनी जस्ता स्टार अभिनित शोले एक एक्सन-एडभेन्चर फिल्म हो । फिल्म रमेश सिप्पीले निर्देशन गरेका थिए । उनका बुबा जीपी सिप्पीले निर्माण गरेका थिए र सलीम-जावेदले लेखेका थिए ।

    १९.प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको संकल्प रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको उल्लेख गर्दै आगामी वर्षदेखि तराईमा आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने बताएका हुन् ।

    २०.टर्कीले इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको विरुद्धमा एकताको लागि मुस्लिम राष्ट्रहरूलाई अपील गरेको छ। शनिबार इजिप्टमा भएको वार्तापछि टर्कीका विदेशमन्त्री हाकान फिदानले इजरायलको योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गरिनुपर्ने धारणा राखेका हुन् । इजिप्ट र टर्की दुवैले शुक्रबार इजरायलको गाजा शहर नियन्त्रण गर्ने योजनाको निन्दा गरेका थिए । अंकाराले यसलाई 'इजरायलको नरसंहार र विस्तारवादी नीतिहरूको नयाँ चरण' को रूपमा वर्णन गरेको छ  र यसलाई रोक्न विश्वव्यापी स्तरमा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ । इजरायली सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गाजा शहर नियन्त्रण गर्ने योजनालाई अनुमोदन गर्दै पाँच बुँदाहरू तय गरेको थियो । इजरायली सेनाले गाजा शहर नियन्त्रण गर्न र युद्ध अन्त्य गर्न यी बुँदाहरू अन्तर्गत काम गर्ने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij