
Aug 26 2025 | २०८२, भदौ १० गते
काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका-५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने संखुवासभा मकालु गाउँपालिका-४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।
पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij