
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार ६ बजे नेपालका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
२- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरेका छन् । काठमाडौंको प्रज्ञाभवन, कमलादीमा आयोजित उक्त सम्मेलनमा प्रचण्डले भने- 'उत्साहका लागि लाल सलाम भन्न चाहन्छु । मलाई विश्वास छ, यो सम्मेलनले महिला हिंसाविरुद्ध एउटा संकल्प प्रस्ताव पारित गर्नेछ ।' उनले माओवादी जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै भने- 'यदि जनयुद्धमा हजारौं, लाखौं महिलाहरूको सहभागिता नभएको थियो भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन ।' प्रचण्डले जनयुद्वको सुरूवातमा कालिकोट र रोल्पाका महिलाहरू देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै भने- 'यदि उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो ।' उनले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानबिना गणतन्त्र सम्भव थिएन भन्ने धारणा व्यक्त गरे ।
३- संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन भदौ २० गते हुने भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उपसभामुख इन्दिरा राना मगरले रिक्त रहेको संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन भदौ २० गते हुने जानकारी दिदै निर्वाचनको तालिका सार्बजनिक गर्न संघीय संसद सचिवालयका महासचिवलाई निर्देशन दिएकी छन् । यस अघि कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि रिक्त रहेको थियो ।
४- नेकपा एमालेको विधान अधिवेशनको तयारी गरिरहेको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले भदौं २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको जानकारी दिदै यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटीको बैठकमा दुई उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पुर्व राष्ट्रपतिलाई सदस्यता दिने विषयमा फरक मत राखेको स्पष्ट गर्दै दुवैको फरक मत दस्ताबेज माथि नरहेको स्पष्ट गरे । उनले सचिवालय बैठकले निर्णयको असहमतिलाई विधान महाधिवेशनमा प्रस्तुत गर्ने की नगर्ने भन्ने सचिवालय बैठकले निर्णय गर्ने बताए । उनले भने- दस्ताबेज माथिको फरक मत आएको छैन, केन्द्रिय कमिटीको निर्णयमाथि दुई उपाध्यक्षको फरक मत छ, त्यो हामीले जानकारी गराएका छौं । फरक मतको छलफल हुने आफ्नै विधि छ । कसैले फरक मत राखेमा सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टीको विधि रहेको छ । अहिले केन्द्रिय कमिटीको निर्णयमाथिको फरक भएकोले विधान महाधिवेशनमा केन्द्रिय कमिटीको निर्णयको फरक मत बारे छलफल गर्ने या नगर्ने भन्ने विषय सचिवालय बैठकले स्पष्ट गर्ने छ ।'
५- आज नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर रोकिएको छ । आज ३२६ कम्पनिका एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा कारोबार भएको थियो । आज म्युचुअल फन्ड र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
६- अष्ट्रेलियाका विस्फोटक ब्याटस क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन् । लिन सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका हुन् । आधिकारिक घोषणा नगरेपनि सुदूरपश्चिमले बुधबार एक पोष्ट गर्दै अष्ट्रेलियाका खेलाडी भित्राएको र छिट्टै औपचारिक घोषणा गर्ने उल्लेख गरेको छ । खेलाडीको नाम उल्लेख नगरेको भएपनि सुदूरपश्चिमले सार्बजनिक गरेको पोष्टमा उल्लेख गरिएका आँकडा र तस्वीर विश्लेषण गर्दा लिननै भएको स्पष्ट भएको छ । ३५ बर्षिय लिनले अस्ट्रेलियाका लागि २०१८ यता भने खेलेका छैनन् । उनले अस्ट्रेलियाको बिग बाश लिगमा एडिलेड स्ट्राइकर्सबाट खेल्ने गरेका छन् । बिग बास लिगमा लिनले १२७ खेल खेल्दै ३९५५ रन बनाएका छन् भने उनको स्ट्राइक रेट १४९.९२ रहेको छ । दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम गत सिजनमा उपविजेता बनेको थियो ।
७- गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् । उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ । अख्तियारले काभ्रेको दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राही २ लाख घुस र मोबाइलसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट बुधबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।
९- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ किनिदिन आग्रा गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ रोकेर नेपाली स्याउको बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरेका छन् । उनले देशभर र सांसदहरुलाई पनि जुम्लाको स्याउ किनिदिन आग्रह गरेका छन् । उनले भने- 'जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो छ, स्वादिलो छ, अर्ग्यानिक छ, केमिकल हालेको छैन । यो स्याउ नेपाल भर सबै र माननीयज्यूहरुले पनि किनिदिनुहोला । अहिले मात्र विदेशी स्याउ आइरहेको छ । यसले जुम्लाको स्याउको बजारीकरण गर्न गार्हो भएको छ । कृषिमन्त्रीलाई आग्रह छ । अघिल्लो महिना मात्र साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ । त्यसलाई क्वारेन्टाइन नगरी नल्यादिनुहोला, सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनु होला । त्यो भयो भने जुम्लाको स्याउले बजार पाउछ, त्यसले किसान खुशी हुने छन् ।'
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद हरि ढकाल र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा सांसद ढकालले आफुहरुविरुद्ध सत्ता पक्ष सुनियोजित रुपमा उत्रिएको आरोप लगाउदै ८४ मा जनताले यसको बदला लिने बताए । उनले भिजिट भिसा प्रकरणमा जारी रहेको विरोध अहिले पनि जारी रहेको बताए । त्यस्तै राप्रपा सांसद शाहीले सबैलाई जुम्लाको स्याउ खाइदिन आग्रह गर्दै सडक अवरुद्ध हुदा स्याउ ल्याउन कठिन भएको बताए । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
११- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच द्विपक्षीय बैठक भएको छ । हाल चीनको बेइजिङमा रहेका पुटिन र उनबीच द्विपक्षीय बैठक भएको हो । बैठकमा पुटिनले किम जोङ उनसँग उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउदै उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेकोमा प्रसंशा गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । पुटिनले किमलाई उत्तर कोरियाली सैनिकहरूले त्यहाँ साहसपूर्वक लडेको बताएको बिबिसीले उल्लेख गरेको छ । पुटिनको जवाफमा किमले रुससँगको सहकार्य अझै बढाउने र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको रिपोर्टमा उल्लेख छ । यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भएको थियो, जहाँ चीन भ्रमण गर्ने राष्ट्र प्रमुखहरूलाई स्वागत गरिन्छ । यसअघि, पुटिन र किमले चीनको विजय दिवस परेडको क्रममा भेटेका थिए । यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए । दुवै नेता दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनसमक्ष आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा चीनको बेइजिङमा आयोजना गरिएको सैन्य परेडमा सहभागी हुन चीनमा रहेका छन् । परेड कार्यक्रम आज बिहान सम्पन्न भएको छ ।
१२- कलाकार केदार घिमिरे माग्ने बुढाले दीपकराज गिरीसँग माफी माग्दै अरुले लखेटेको बेला केहि बोल्न नसकेकोमा माफी मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै माग्ने बुढाले जि'स्का कोहि नही होता है उसका दिपक राज गिरि होता है' भन्दै गिरीसँग माफी मागेका हुन् । उनले गिरीले सबैलाई परेको बेलामा सपोर्ट गर्ने गरेको उल्लेख गर्दै आफुलाई परेको बेलामा पनि काँध थापेको तर आफुभने भने मुक दर्शक भएर बस्न बाध्य भएको उल्लेख गरेका छन् ।
१३- पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएनपी) को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जियो न्यूजका अनुसार बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचले यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको उल्लेख गरेको छ । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मीहरू पनि मारिएका छन् । राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गर्दै भने कि यो विस्फोट 'मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य' भएको बताएका छन् ।
१४- नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको २ हजारले बढेर तोलाको २ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भएको थियो । यो सुनको मुल्यले हरेक दिन नयाँ किर्तिमान बनाइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर २४८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको २४८५ मा कारोबार भएको थियो ।
१५- बलिवुडकी सैयारा फेम अभिनेत्री अनीत पड्डा काठमाडौँ आएकी छन् । अनीत आफ्नी साथी अभिनेत्री तेन्जिन ल्हाकिलासँग समय बिताउन काठमाडौँ आएकी हुन् । ल्हाकिलाले अनीतसँग काठमाडौँको बौद्धलगायतका स्थानमा घुमेका तस्बीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । ल्हाकिला र अनीतले यसअघि 'बिग गर्ल्स डोन्ट क्राइ' नामक वेभ सिरिजमा एक साथ काम गरेका थिए । अनीतले सो सिरिजपछि यश राजको फिल्म सैयारामा अभिनय गर्ने अवसर पाएकी थिइन् । सैयाराले बलिवुड बक्स अफिसमा कैयौं किर्तिमान बनाउदै सुपरहिट बनेको थियो । सैयारामा अनीत र अभिनेता आयान पाण्डेको अभिनयको निकै प्रसंशा भएको छ र दुवैलाई बलिवुडका आगामी सुपरस्टारको संज्ञा दिइएको छ ।
१६- बलिवुडका किङ शाहरुख खानकी छोरी सुहाना खान कानुनी झमेलामा परेकी छन् । सुहानाले महाराष्ट्रको रायगड जिल्लाको अलिबाग क्षेत्रमा करोडौं रुपैयाँको कृषि जग्गा किनेको विषय विवादमा परेको छ । महाराष्ट्र राज्यको कानून अनुसार, कृषि जग्गा किन्न सक्ने किसान मात्र हुन सक्ने व्यवस्था रहेको छ । अब यो विषय विवादमा परेपछि अनुसन्धान शुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस विषयमा सुहानाले किनेको जग्गाको सम्झौता रद्द वा जरिवाना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । सुहानालाई यस सम्झौतामा किसानको रूपमा प्रस्तुत गरिएको तर प्रशासनले यस लेनदेनको सम्बन्धमा अनुसन्धान शुरु गरेको बताइएको छ । २०२३ मा सुहानाले अलिबागमा लगभग १२ करोड ९१ लाख बराबरको जग्गा किनेको थियो, जुन देजा भु फार्म प्राइभेट लिमिटेडको नाममा दर्ता गरिएको बताइएको छ । सुहानाले मुम्बईको अलिबागको थाल गाउँमा ठूलो जग्गा लिएकी थिइन् । यो जग्गा सरकारले खेतीपातीको लागि तोकेको थियो, जसमा किसानहरूले मात्र खेती गर्न सक्छन् । सुहानाले यो जग्गा अञ्जली, रेखा र प्रिया नामका तीन दिदीबहिनीबाट लिएकी थिइन् । यी तीन दिदीबहिनीले यो जग्गा आफ्ना आमाबाबुबाट पाएकी थिइन् । सुहानाले यो जग्गा किन्दा उनले यसको लागि लगभग ७७.४६ लाख स्ट्याम्प ड्युटी पनि तिरेको बताइएको छ । अब यो विषयमा अनुसन्धान भइरहेको छ । अधिकारीहरूले यस विषयमा अलिबागका तहसीलदारसँग रिपोर्ट मागेको र यस विषयमा विस्तृत अनुसन्धान गर्न आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
१७- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियाले क्यानडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा नामिबियाले क्यानडालाई २४ रनले पराजित गरेको हो । नामिबियाले दिएको २६२ रनको लक्ष्य पछाएको क्यानडाले ४८.३ ओभरमा अल आउट हुदै २३७ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाउदै २६१ रन बनाएको थियो । यो जितपछि विश्वकप लिग-२ को अंक तालिकामा नामिबियाको २३ खेलमा १९ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यसैगरी क्यानडाको हाल २३ खेलमा २० अंक रहेको छ र पाँचौं स्थानमा कायम छ । अब विश्वकप लिग-२ अन्तर्गत अर्को खेल विहिबार नामिबिया र स्कटल्याण्डबीच हुने तालिका रहेको छ ।
१८- काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिबार गरिने शुभ साइत निकालिएको छ । इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो । इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले यस बर्षको ईन्द्रजात्रामा विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिएका छन् । यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत रहेको मानन्धरले जानकारी दिएका छन् । महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले हरेक जात्राको आफनै महत्व रहेको बताउदै जात्राका लागि सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यक रहने बताएका छन् । इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ ।
१९- जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ । गएराती शारजाहमा सम्पन्न खेलमा अफगानिस्तानले पाकिस्तानलाई १८ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको पकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १५१ रन बनाएको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १६९ रन बनाएको थियो । यो यस त्रिकोणात्मक सिरिजमा अफगानिस्तानको तेस्रो खेलमा दोस्रो जित हो । त्यस्तै यस अघि दुई खेल लगातार जितेको पाकिस्तानले तेस्रो खेलमा हार बेहोरेको छ । अब सिरिज अन्तर्गत विहिबार पाकिस्तान र युएईबीच खेल हुदैछ ।
२०- सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ११ बजेर २३ मिनेट जादा सिन्धुपाल्चोकको तालरामारांग केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij