Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । दसैं मनाउन बाँकेबाट अछामतर्फ जाँदै गरेका एक किशोरको सवारी दुर्घटनामा ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।
कोहलपुर नगरपालिका–२ बाँकेका १८ वर्षीय ऋतिक शाहीको उपचारका क्रममा सोमबार दिउँसो प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी सवार मोटरसाइकलमा अछाम पञ्चादहल विनायक नगरपालिका–४ का १९ वर्षीय दमन शाही पनि थिए । मोटरसाइकलको पछाडिबाट यात्रा गरिरहेका दमन गम्भीर घाइते भएका छन् । उनी हाल माया मेडिकल, छिन्चुमा उपचाररत छन् । बायाँ खुट्टा र छातीमा गम्भीर चोट लागेका कारण उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना सोमबार दिउँसो करिब पौने १ बजेतिर भेरीगंगा नगरपालिका–१२ पाडुले नजिक भएको हो ।
छिन्चुतर्फबाट सुर्खेततर्फ आउँदै गरेको ना.५ ख ५६०८ नम्बरको खाली ट्रकले लु.प्र.०३००१ प–३६३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मृतक र घाइते आफन्त हुन् र दसैं मनाउन पुर्ख्यौली घर अछाम जाँदै गरेका थिए । ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij