Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल प्रहरीमा ६ वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी रिक्त भएको छ । भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्ले डीआईजी बढुवाका लागि सिफारिस भएपछि ५ एसएसपी रिक्त भएको हो । बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत अर्का एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त एसएसपीको संख्या ६ पुगेको छ । रिक्त ६ एसएसपी पदका लागि बढुवा सिफारिस समितिले गृहकार्य सुरु गरेको छ ।
अहिले बढुवा सिफारिस भएका डीआईजीहरू बढुवा भएर दर्ज्यानी चिह्न लगाएको अवस्था र रानाभाटको राजीनामा स्वीकृत भएपछि एसएसपीमा बढुवा गर्नेगरी तयारी अघि बढाइएको छ । बढुवा सूचीको पहिलो नम्बरमा बिमल बस्नेत छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् । बस्नेत यसअघि पनि पटकपटक बढुवामा छुट्दै आएका थिए । ५ साउनमा बढुवा सिफारिस समितिले ११ जना एसपीलाई बढुवाका लागि सिफारिस गर्दा बस्नेत छुटेका थिए ।
त्यतिबेला तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल बढुवाका लागि सिफारिस भएका थिए । बस्नेतपछि दोस्रो नम्बरमा रामप्रकाश शाह प्रतिस्पर्धामा छन् । उनी पनि राष्ट्रिय अनुसन्धान विभागमा २०५५ सालमा भर्ना प्रहरीमा स्थानान्तरण भएर आएका अधिकृत हुन् ।
त्यसपछि भने २० माघ २०७७ मा एसपी भएका अधिकृतहरू बढुवाको प्रतिस्पर्धामा छन् । जसमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्याम सिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही छन् । उनीहरूमध्येबाटै ६ जना एसएसपी बन्ने छन् भने बाँकी एसपीमै रहने छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij