Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल स्काउटको नाममा रहेको लैनचौरस्थित जग्गा खाली गराएको छ । उक्त जग्गा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लामो समयदेखि ओगटेर राखेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा काठमाडौं महानगरको टोलीले बिहीबार बिहान स्काउट परिसरमा प्रवेश गरी डोजर चलाएर संरचना भत्काएको हो ।
नेपाल स्काउटले सो जग्गाको भाडाबापतको बक्यौता बुझाउन कम्पनीलाई सात दिनको अल्टिमेटम दिएको थियो । तर निर्धारित समयसीमा सकिँदा पनि कम्पनीले भाडा नतिरेपछि स्काउटले महानगरसँगको सहकार्यमा जग्गा खाली गराएको हो ।
स्काउटका अनुसार लैनचौरस्थित मूल सडकसँग जोडिएको कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न २०६५ सालमा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिसँग १० वर्षे करार गरिएको थियो । सम्झौताअनुसार २०७५ सालमै अवधि सकिए पनि कम्पनीले जग्गा फिर्ता नगरेपछि पटक–पटक ताकेता गरिएको थियो ।
महानगरले अवैध रूपमा सार्वजनिक सम्पत्तिमा कब्जा जमाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्यले यो कारबाहीलाई नियमित अभियानको रूपमा लिएको जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij