Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण प्रक्रियालाई तत्काल टुंग्याउन जिल्ला सभापतिहरूलाई परिपत्र जारी गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने निर्णय सार्वजनिक गर्दै सदस्यता प्रक्रिया समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
परिपत्रमा नवीकरण नभएका तथा विवरण केन्द्रमा नपुगेका जिल्लाहरूलाई अविलम्ब तहगत समन्वय गरेर वडादेखि जिल्ला कार्यसमितिको बैठकसमेत सम्पन्न गरी नवीकरणको अन्तिम नामावली तयार पारेर केन्द्रमा पठाउन भनिएको छ । आवश्यक सदस्यता शुल्कसमेत कार्यतालिकाअनुसार बुझाइसक्नुपर्ने उल्लेख छ ।
निर्धारित समयसीमाभित्र नवीकरण विवरण नपुगेका कारण सदस्यता छुट भएमा छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्र अनिवार्य केन्द्रमा पठाउन पर्ने उल्लेख छ ।
यससँगै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै फारम पठाइएको परिपत्रमा उल्लेख छ । एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाले पुस १० गतेभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले पुस ११ गतेभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नामावली प्रकाशन गरेर केन्द्रमा पठाइसक्नुपर्ने जनाइएको छ ।
महाधिवेशन कार्यतालिका समयमै पूरा गर्न मातहतका सबै समितिहरूलाई आवश्यक समन्वय र सहयोग गर्न आग्रह पनि गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij