Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार (पुस १७) विज्ञप्तिमार्फत आयोगले उनीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जनाएको छ ।
“निजहरूको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ,” आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत विभिन्न मागसहित उनीहरू अनशनमा रहेका आयोगले जनाएको छ ।
“आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
भुसाल र विष्टलाई बुधबार (पुस १६) राति वीर अस्पतालमा लगेर भर्ना गरिएको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि उपचारका निम्ति उनीहरूलाई अस्पताल लगिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij