Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा आजको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ ।विहिबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा रिटको पेशी तोकिएको थियो ।
यसअघि सर्वोच्च अदालतले माघ ११ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको कैलाली–१ को उम्मेदवारी रद्ध गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोध्दै अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो ।
थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुर भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो । सो घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो । चौधरीलाई गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १४ मा बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij