Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । स्तन क्यान्सर र घरेलु हिंसाविरुद्ध कडा संघर्ष गर्दै सचेतनाको ज्योति फैलाएकी स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापित ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ ।
शनिबार नवलपुरको कावासोतीमा आयोजित एक विशेष समारोहमा ढुङ्गेललाई नगद २० हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरियो ।
पुरस्कार वितरण गर्दै स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले क्यान्सर जस्ता नसर्ने रोगहरू नेपालका लागि ठूलो चुनौती बन्दै गएको बताए । उनले भने नेपालमा दैनिक औसत १० जनाको मृत्यु नसर्ने रोगका कारण भइरहेको छ । यदि समयमै पहिचान र उपचार गर्ने हो भने क्यान्सर पूर्ण रूपमा निको हुन सक्छ, त्यसका लागि सचेतना नै मुख्य औषधि हो ।
यो पुरस्कार जसको नाममा स्थापित छ, ती हुन् साहसकी पर्याय राधा बस्याल । १० वर्षभन्दा लामो समय पत्रकारिता गरेकी राधाले वैवाहिक जीवनपछि एकातिर घरेलु हिंसा र अर्कोतिर स्तन क्यान्सरसँग जुध्नुपरेको थियो । तर, उनले आफ्नो पीडालाई लुकाउनुको साटो राधा क्यान्सर सचेतना फाउन्डेसनु स्थापना गरी गाउँ-गाउँ र रेडियोमार्फत सचेतना फैलाउने अभियान चलाइन् ।
२०७७ सालमा ३० वर्षको अल्पायुमै उनको निधन भए पनि उनको अभियानलाई अहिले भाइ प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश बस्यालले भने, समाजको डरले हिंसा लुकाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ र छोरीहरूलाई खुलेर बोल्न सक्ने वातावरण घरबाटै बनाउनुपर्छ ।
पुरस्कृत पत्रकार सरोज ढुङ्गेलले स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर र नसर्ने रोगका गम्भीर विषयमा कलम चलाउन यो सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा दिएको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij