Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभान्वित हुने सरोकारवालाले बताएका छन् । देशको इन्धन सुरक्षा, आयात प्रतिस्थापन र विदेशी मुद्रा सञ्चितिमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै बहुपक्षीय क्षेत्र उत्साहित भएको उनीहरूले बताएका हुन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यसका लागि सरकार र निजी क्षेत्र तयार रहेको बताएका हुन् । लामो समयदेखि चर्चामा रहेको यो विषयले हालै मन्त्रिपरिषद्बाट ‘पेट्रोलमा इथानोल मिसावट गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ स्वीकृत भएसँगै यसले मूर्तरूप लिन लागेको हो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालबाट वार्षिक करिब ६ अर्बबराबरको पेट्रोलियम आयात घटाउन सकिने बताएका छन् । उनले पेट्रोलमा इथानोल मिसाउने निर्णय लामो अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको बताए । इथानोल उत्पादनका लागि उखुजस्ता कृषि उत्पादन बढ्ने, कृषिभूमि उपयोग विस्तार हुने तथा आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने मन्त्री सिन्हाको भनाइ छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले चिनी उद्योगबाट प्राप्त हुने मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली र सिमलतरुलजस्ता कच्चा पदार्थहरू इथानोल उत्पादनका लागि प्रयोग हुने जानकारी दिए । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले २० वर्ष ढिलो गरी गठन आदेश आए पनि कार्यविधि नआएको जानकारी दिए । कार्यविधि नआउँदा अहिले पनि लगानी गरेर प्रक्रिया अघि बढाउन निजी क्षेत्र संशयमा रहेको उनले जानकारी दिए ।
उनका अनुसार एउटा चिनी उद्योगबाट दैनिक २० हजारदेखि ३० हजार लिटरका दरले १२ वटा उद्योगबाट दैनिक तीन लाख ६० हजार लिटरसम्म इथानोल उत्पादन गर्न सकिन्छ । कुल पेट्रोलको आयात परिमाणको करिब तीन प्रतिशत इथानोल स्वदेशी चिनी उद्योगबाट उपलब्ध हुन सक्ने उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij