Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सप्तरीको महादेवा गाउँपालिकामा राजनीतिक दलको झण्डा र ब्यानर जलाएको तथा सामाजिक सञ्जालमार्फत अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महादेवा गाउँपालिका वडा नं. ५, भगवतपुर निवासी ३१ वर्षीय हरि नारायण मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, मण्डलले नेकपा एमाले पार्टीको ब्यानर, फोटो तथा सूर्य अंकित झण्डा जलाउँदै गरेको र उत्तेजित रूपमा अश्लील भाषा प्रयोग गरी विभिन्न आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले उनलाई यही फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नं.३ बाट नियन्त्रणमा लिएको हो ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा मण्डलले भिडियोमा बोलेको र झण्डा जलाएको स्वीकार गरेपछि उनलाई हिरासतमा लिइएको हो । घटना गत फागुन ६ गते राति ९ बजेतिर भगवतपुरमा घटेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका मण्डलमाथि ‘सार्वजनिक शान्ति विरुद्धको कसूर’मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थप गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij