Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका १४ सय ट्राफिक प्रहरी उपत्यका बाहिरका विभिन्न जिल्लामा खटिएका छन् । जम्मा १६ सय जनशक्ति रहेको उपत्यका ट्राफिकसँग अहिले २ सय जनशक्तिमात्रै बाँकी छ ।
फलतः उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ, सर्वसाधारणको आवागमन प्रभावित भएको छ । निर्वाचन सुरक्षाका निम्ति उपलब्ध प्रहरी जनशक्ति नपुग भएका कारण ट्राफिकसहित उपत्यकाका विभिन्न प्रहरी युनिटमा कार्यरत कर्मचारी विभिन्न जिल्लामा खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए ।
नेपाल प्रहरीको मौजुदा जनशक्तिबाट मात्रै निर्वाचन सुरक्षा सम्भव नहुने कारण सरकारले निर्वाचन प्रहरी ९म्यादी० का रुपमा १ लाख ३३ हजार ९८० जनशक्तिलाई भर्ना गर्ने अनुमति दिएको थियो । ती सबै अहिलेसम्म तोकिएका स्थानमा खटिएका छन् । उक्त जनशक्ति पनि अपुग भएपछि राजाधानी उपत्यकाका विभिन्न प्रहरी युनिटमा कार्यरत १६ हजारभन्दा बढी प्रहरी जनशक्तिलाई देशका विभिन्न जिल्लामा खटाइएको प्रवक्ता काफ्लेले बताए ।
जनशक्तिको न्यूनताका बीचमा पनि ट्राफिकका नियमित र जरुरी कामहरु सम्पन्न गरिने उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताए । ‘
विभिन्न किसिमका चेकजाँच र सडक सुरक्षाका अन्य काम नियमित रुपमै जारी छ’, उनले भने । ट्राफिक प्रहरीका कामका लागि पनि निर्वाचन प्रहरी खटिएको उनले बताए ।
म्यादीले सिठ्ठी फुक्छन्, चालकले अटेर गर्छन्
अहिले राजधानी उपत्यकाका सडकमा नियमित देखिने गरेको दृश्य हो, निर्वाचन प्रहरीले विभिन्न सवारी साधनका चालकलाई रोक्नका लागि सिठ्ठी फुक्छन्, चालकहरु अटेर गर्दै अगाडि बढ्छन् । सर्वसाधारण पनि अटेर गरेझैँ हाँस्दै अगाडि बढ्छन् । त्यसमाथि काठमाडौं र ललितपुरका अति व्यस्त सडकहरु ट्राफिक जामका कारण अस्तव्यस्त छन् ।
‘मापसे’ विरलै
मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सञ्चालन गर्ने गरेको ‘मापसे चेकिङ’ जनशक्ति अभावका कारण विरलै हुने गरेको छ । तर, उपत्यका ट्राफिक प्रमुख अधिकारी त्यस्तो चेकिङ जारी रहेको बताउँछन् । ‘ड्रिंक्स एण्ड ड्राइभ (मापसे) नियन्त्रण नगर्दा भयावह दुर्घटनाको सम्भावना बढी हुन्छ, त्यसैले उक्त कारवाही रोक्ने भन्ने कुरै हुँदैन’, उनले भने ।
अहिले उपत्यकाका ट्राफिक युनिटमा कार्यालय सुरक्षाका लागि भनेर २० प्रतिशत ट्राफिक प्रहरी मात्रै खटिएका छन् । उनीहरुले अत्यावश्यक बाहेकका काम गर्ने समय नै पाउँदैनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij