Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको डिजिटल प्रयोगलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र स्वास्थ्य बिमा बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो सहमतिसँगै अब स्वास्थ्य बिमा सेवामा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी डिजिटल प्रणालीमार्फत सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ । यो सहकार्यले स्वास्थ्य बिमा प्रणालीलाई अझ छिटो, सुरक्षित र विश्वसनीय बनाउने विश्वास बोर्डले व्यक्त गरेको छ ।
राष्ट्रिय परिचय नम्बरमार्फत नागरिकको विवरण प्रमाणीकरण गर्दै स्वास्थ्य बिमा सेवालाई अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
सम्बन्धित निकायका अधिकारीका अनुसार, यो समझदारीले स्वास्थ्य बिमा सेवामा डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीलाई छिटो, सहज र विश्वसनीय सेवा उपलब्ध गराउन मद्दत गर्नेछ । यसबाट कागजी प्रक्रिया कम भई सेवा प्रवाहमा पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ ।
यो प्रणाली कार्यान्वयनमा आएपछि बिमित नागरिकले राष्ट्रिय परिचय नम्बरका आधारमा स्वास्थ्य बिमासम्बन्धी विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । साथै, सरकारी सेवालाई एकीकृत डिजिटल प्रणालीतर्फ लैजान यो कदम महत्त्वपूर्ण मानिएको बोर्डले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij