काठमाडौं । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि नगरपालिका–भर खोप अभियान चलाइएको छ। नौवटै वडाका १०–१९ वर्ष उमेर समूहका पाँच हजार ६५६ बालबालिका र किशोरकिशोरीलाई स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेका छन्।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँमा सङ्क्रमण देखिएपछि फागुन २९ गतेदेखि चैत १ गतेसम्म अभियान सञ्चालन गरिएको थियो। छुटेका बालबालिकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालमार्फत खोप दिइने प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए।
हालसम्म सात जनामा दादुराको सङ्क्रमण पुष्टि भइसकेको छ भने १०३ जना शङ्कास्पद बिरामी छन्। एक्काइस जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको छ। बुर्तिबाङ अस्पतालमा २४ जना र बोबाङ स्वास्थ्य चौकीमा छ उपचाररत रहेका छन्।
घिमिरेका अनुसार बाँकी बालबालिकालाई पनि विद्यालयमा, घरमा वा स्वास्थ्य संस्थामा पुगेर खोप दिइनेछ। खोप लगाइसकेपछि सङ्क्रमण नियन्त्रणमा आउने अपेक्षा गरिएको छ।
यसअघि दादुरा सङ्क्रमणका कारण बन्द भएका करिब आधा दर्जन विद्यालय हाल पुनः सञ्चालनमा आएका छन्। ढोरपाटन नगरपालिकाका स्वास्थ्य प्रमुख भूमिश्वार शर्माका अनुसार विद्यालय सञ्चालन बालबालिकालाई खोप दिइएको र सङ्क्रमण कम देखिएको आधारमा पुनः खोलिएको हो।