Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ।
तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड बग्गि प्रालिको सहकार्यमा घोडेजात्रा पर्वको अवसर पारेर चैत ४ गते (भोलि) तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव हुन लागेको हो।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका स्थानीय तहले पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।
देशभरका ७५३ वटा स्थानीय तहमध्ये तारकेश्वर घोडेजात्रा महोत्सव गर्ने पहिलो स्थानीय तहसमेत बनेको छ।
‘पहिचान, अपनत्व र अधिकारः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त महोत्सवलाई सफल बनाउन उपत्यकाभरका स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, नगरवासीलाई आमन्त्रण गरिएको छ।
नगरप्रमुख महर्जनले टुँडिखेलमा मनाईँदै आइएको घोडेजात्रालाई थप विस्तार गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको बताए।
‘टुँडिखेलमा घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि यो महोत्सव फलदायी हुने विश्वास नगरपालिकाले लिएको छ,’ उनले भने।
उक्त घोडेजात्रा महोत्सवमा घोडाको मार्चपास, हर्स जम्पलगायत टुँडिखेलमा हुने सबै प्रकारका खेल हुनेछन्। उक्त महोत्सवलाई सम्पन्न गर्नका लागि १४ वटा घोडाको प्रयोग हुने नगरप्रमुख महर्जनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij