Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । वर्षाका कारण सडक चिप्लो बनेपछि नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रमा रातिको समयमा सवारी आवागमन आंशिक रूपमा रोकिने भएको छ।
संभावित दुर्घटना र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विशेषगरी ठूला सवारीसाधनको सञ्चालनमा रातिको समयमा आंशिक रोक लगाइएको हो।
नारायणघाट–बुटवल सडक आयोजना कार्यालय का इन्जिनियर एवं सूचना अधिकारी विकास खनालका अनुसार आज दिउँसोदेखि परेको वर्षाले दाउन्ने खण्डको सडक अत्यधिक चिप्लो बनेको छ। यसका कारण विशेषगरी मालवाहक सवारीसाधन चिप्लिने तथा बीच बाटोमै अड्किने समस्या बढेपछि जाम नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।
जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार आजदेखि चैत ८ गतेसम्म हावाहुरी, मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सोही अवस्थालाई ध्यानमा राख्दै प्रत्येक दिन बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।
साना तथा लामो दूरीका यात्रुवाहक सवारीसाधन र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ।
सडकखण्डमा मर्मतसम्भारको काम पनि भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साथै, सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न आयोजना कार्यालयले सबैसँग अनुरोध गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij