Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । गण्डकी प्रदेशभित्र सडक विस्तारका क्रममा मापदण्डमा परेका पुराना घर अब नभत्किने भएको छ । गण्डकी प्रदेशले सडक ऐन संशोधन गर्दै पुराना घर नभत्काउने गरी कानुन बनाएको हो । प्रदेश सरकारले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्दै ऐन लागू हुनुअघि बनेका पुराना घर तथा स्थायी संरचनाहरूलाई नभत्काउने कानुनी व्यवस्था गर्न लागेको हो ।
सोमबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले सडक ऐनको पहिलो संशोधन विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि संसदीय समितिमा छलफलका लागि पठाइएको छ ।
गत वर्ष जारी भएको सडक ऐनमा प्रदेश लोकमार्ग र प्रादेशिक सडकको सीमा (राइट अफ वे) र घर बनाउँदा सडकबाट छोड्नुपर्ने दूरी (सेट ब्याक) तोकिएको थियो । तर, ऐनले पुराना घरहरूलाई समेत समेट्ने देखिएपछि दमौली, भोर्लेटार, ब्यास जस्ता पुराना र घना बस्तीका स्थानीयले आफ्नो उठिबास हुने भन्दै गुनासो गर्दै आएका थिए । सर्वोच्च अदालतले समेत नागरिकको मञ्जुरी वा उचित मुआब्जा दिएर मात्र सडक विस्तार गर्नू भनी आदेश दिएपछि सरकारले ऐन संशोधन गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij