Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुजनले चौथोपटक जिब्रो छेड्ने

सुजनले चौथोपटक जिब्रो छेड्ने

  • काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको बैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेको र यस वर्ष पनि आफैँले जिब्रो छेडेर जात्रा मनाउने उनले बताए । 

    AGNI GROUP

    कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।  तीन वर्षदेखि भने बुद्धकृष्णका कान्छा छोराले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएकोमा यस वर्ष चौथोपटक उनले जिब्रो छेडाउन लागेका हुन् । 

    जात्राका कर्मी नायोसमेत रहेका कृष्णचन्द्र बाग श्रेष्ठले चार सय वर्ष अगाडिदेखि यो जात्रा चल्दै आएको र अहिलेसम्म कुनै पनि परिस्थितिमा यो जात्रा नरोकिएको बताए । जात्राका लागि चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने सुजनका बुबा बुद्धकृष्णले बताए । 

    यसअघि नौपटक जिब्रो छेडाएर जात्रा चलाएका उनले जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सानैदेखि बुबाले जिब्रो छेडेर जात्रा चलाएको हेर्दा अगाडि हजारौँले जयजयकार गरेको देख्दा आफूलाई कहिले जिब्रो छेडौंजस्तो लाग्ने गरेको बताउँदै सुजनले पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमंगले दुखाइसमेत याद नभएको बताए ।

    पहिला जिब्रो छेड्ने मानिसको कमी हुने गरे पनि यस वर्ष भने चार जना युवाले जिब्रो छेड्न रहर गरेको बताउँदै उनले आफूले सक्ने भएसम्म जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने बताए । 

    सुजनले भने, ‘बुबाले जिब्रो छेडाउँदा म पनि सँगै हुन्थेँ, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेर यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुम्नेछु ।’

    बुद्धकृष्णले भने, ‘मैले जिब्रो छेडाउँदा सानैदेखि छोरा पनि सँगै हुन्थ्यो, यो जात्रा जोगाउनुपर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्थ्यो, त्यसैले यस वर्ष पनि उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरू तयार हुनुपर्छ ।’

    जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायतलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा रहेको उनले बताए । 

    जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । 

    जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । 

    हालसम्म बोडेका १३ जनाबाट निरन्तर १०९ वर्ष जिब्रो छेड्को रेकर्ड रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij