Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभई संकल्पमा बदल्नुपर्ने बताएका छन् ।
जेठ ३ गते मनाइने मदन-आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको स्मरण गर्दै गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको पोखरेलको भनाइ थियो ।
उनले भने, ‘निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन । पार्टी कमिटी र जनसंगठनहरू सक्रिय भएर लाग्नुस् । हरेकले फेरि जित्छन्, त्यसका लागि सङ्कल्प आवश्यक छ।’
अहिलेको चुनावमा कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको उनको टिप्पणी छ ।
पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे । निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको भन्दै उनले पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने बताए ।
‘आवश्यक सुझावहरू पार्टी संरचना भित्रै दिनुपर्छ’, उनको भनाइ छ ।
बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल, पार्टी सचिव तथा राजधानी विशेष प्रदेश इन्चार्ज डा. राजन भट्टराई, विभिन्न जनसंगठनका अध्यक्ष, राजधानीका पार्टी कमिटी तथा सम्पर्क कमिटीका अध्यक्षहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij