Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । एमाले सांसद सुहाङ नेम्वाङले आफ्नो निर्वाचन क्षेत्र इलामका अधुरा सडक र पुलका कारण जनताले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बैठकमा उनले वर्षायाम सुरू भएसँगै पहाडी भेगका जनतामा त्रास सुरू भएको बताए । गायक दीप श्रेष्ठको गीत ‘दिनरात सहरमा झरी पर्छ, गाउँमा सायद खेतै बग्यो कि १’ सम्झिँदै उनले सहर र गाउँको पीडाको भिन्नता सदनसमक्ष राखेका छ्न् ।
सहरमा हामी समृद्धिको ठूला-ठूला बहसमा छौँ, तर यही संसद भवन बाहिर ठूलो पानी दर्कियो भने मेरो मन सीधै इलाम पुग्छ,’ नेम्वाङले भने, ‘जब पानी दर्किन्छ, तब इलामका पहाडी सडकहरू भत्किन्छन्, पहिरो जान्छ । बिरामी बोकेका एम्बुलेन्स र दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधन बीच बाटोमै अलपत्र पर्छन् ।’
इलामका अलपत्र परेका आयोजनाको नामै लिएर उनले बजेट र निर्माणको लागि सरकारको ध्यानाकर्षण गराए । राजदुवाली सडक, दमक-चिसापानी सडक, नेपालटार-मंगलबारे सडक, राँके-रवि-भेडेटार सडक, बेलासे सडक र मदन भण्डारी राजमार्ग लगायतका सडक तथा पुलहरू अलपत्र हुँदा हजारौँ जनताले दुस्ख पाइरहेको उनको भनाइ छ ।
यी आयोजना समयमा नसक्नुमा बजेटको अभाव, कानुनी उल्झन र ठेकेदारहरूको चरम लापरबाही मुख्य कारण रहेको सुहाङको जिकिर छ । जनताको आक्रोश र पीडा लिएर आफूले मन्त्रालयका धेरै ढोका ढकढक्याएको तर निराशा बोकेर फर्कनुपरेको अनुभव पनि उनले सुनाए ।
‘वर्षा लागेपछि न हामीजस्ता जनप्रतिनिधिहरू सहरमा चैनले निदाउन सक्छौँ, न गाउँमा जनताहरू नै ढुक्कले सुत्न सक्छन्,’ नेम्वाङले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij