Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरण को रिक्त अध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढाएको छ।
अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै अध्यक्ष पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई व्यक्तिगत विवरण (बायोडाटा) पेश गर्न आह्वान गरेको छ।
सूचनाअनुसार इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र, अर्थात् जेठ १९ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ। आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा पेश गर्नुपर्नेछ।
सूचनाअनुसार उम्मेदवारले बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष उच्च व्यवस्थापकीय अनुभव आवश्यक पर्ने उल्लेख छ।
उम्मेदवार उच्च नैतिक चरित्रको हुनुपर्ने तथा बीमा ऐन, २०७९ अनुसार अयोग्य घोषित नभएको हुनुपर्नेछ। उमेर हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार वा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय पाएका व्यक्ति आवेदनका लागि अयोग्य हुने सूचनामा उल्लेख छ। यस्तै कालोसूचीमा परेको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको, सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा कार्यरत रहेको वा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति पनि अध्यक्ष पदका लागि अयोग्य हुनेछन्।
आवेदनसँगै बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभव खुल्ने प्रमाणपत्र तथा मन्त्रालयको वेबसाइटमा प्रकाशित ढाँचाअनुसारको स्वघोषणा पेश गर्नुपर्नेछ।
यसअघि लामो समयदेखि प्राधिकरण नेतृत्वविहीन रहँदै आएको अवस्थामा सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij