Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । इरानले आफ्नो भूमिगत मिसाइल अखडाहरूका प्रवेशद्वारहरू पुनः खोलेर इजरायल र अन्य मध्यपूर्वी राष्ट्रहरूमा लामो दूरीका क्षेप्यास्त्रहरू प्रहार गर्न सक्ने क्षमता सुदृढ बनाएको समाचार आएको छ।
संयुक्त राज्य अमेरिका र इजरायलले हप्तौंसम्म गरेको भारी बमबारी र सडक सञ्जाल ध्वस्त पार्ने रणनीतिका बाबजुद इरानले साधारण उपकरणहरूको प्रयोग गरी ती अवरोधहरू हटाउन सफल भएको भू-उपग्रह (स्याटेलाइट) चित्रहरूले देखाएका छन्।
सीएनएनद्वारा विश्लेषण गरिएका ती तस्बिरहरूका अनुसार, अमेरिका र इजरायलले ध्वस्त पारेका १८ वटा भूमिगत सुविधाहरूका ६९ वटा सुरुङ मार्गका प्रवेशद्वारमध्ये ५० वटालाई इरानले पुनः सञ्चालनमा ल्याइसकेको छ। रोचक कुरा के छ भने, अमेरिकाले अर्बौँ डलरका महँगा र अत्याधुनिक हतियार प्रयोग गरेर ती सुरुङहरू बन्द गराएको थियो, तर इरानले डोजर र डम्प ट्रक जस्ता सामान्य निर्माण उपकरण प्रयोग गरेर ती मार्गहरू खुला गरेको छ।
यसले अमेरिकाको महँगो बमबारी रणनीतिलाई सामान्य 'लो-टेक' प्रविधिले माथ दिएको विज्ञहरूको विश्लेषण छ।
अन्तर्राष्ट्रिय रक्षा विज्ञ साम लेयरका अनुसार, इरानसँग अझै पनि करिब १,००० भन्दा बढी मिसाइलहरूको विशाल भण्डार सुरक्षित छ, जुन जमिनभन्दा सयौँ मिटर तल ढुङ्गे पहाडमुनि लुकाइएका छन्।
बमबारीले जमिनको सतहमा क्षति पुर्याए पनि गहिराइमा रहेका क्षेप्यास्त्रहरूलाई खासै असर नगरेको देखिएको छ। इरानले विगत २० वर्षदेखि नै सम्भावित युद्धको तयारी गर्दै आफ्ना सैन्य संरचनाहरूलाई अत्यन्त मजबुत बनाएको हुनाले बाहिरी आक्रमणले मात्र उसको क्षमता पूर्ण रूपमा नष्ट गर्न कठिन देखिएको समाचारमा उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमता र लन्चरहरूलाई पूर्ण रूपमा नष्ट गर्ने युद्धको मुख्य उद्देश्य रहेको बताउँदै आएका छन्। तर, पछिल्लो घटनाक्रमले इरानको सैन्य पुनरुत्थानको गति अमेरिकी गुप्तचर निकायको अनुमानभन्दा निकै तीव्र रहेको देखाएको छ।
इरानले सुरुङ मार्ग मात्र नभई ध्वस्त पारिएका सडकहरूलाई समेत पुरेर पुनः कालोपत्रे गरिसकेको छ।
विशेषज्ञहरूका अनुसार परिष्कृत प्रविधिको प्रयोग गरेर ठूलो विनाश गर्ने अमेरिकी प्रयासलाई इरानले साधारण बुलडोजरको सहयोगमा विफल तुल्याउनुले आधुनिक युद्धकलामा नयाँ बहस सिर्जना गरिदिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij